राष्ट्रपतिद्वारा संसद अधिवेशन आव्हान

  • 27 डिसेम्बर 2010
संसद भवन
Image caption अधिवेशनले महिनौदेखि अवरुद्ध प्रधानमन्त्री चुनावको छिनोफानो गर्ने ठानिएको छ

राष्ट्रपति रामवरण यादवले व्यवस्थापिका संसदको अधिवेशन पुस २५ गते बस्ने गरी बोलाएका छन्।

राजनीतिक सहमतिपछि मात्र संसद डाक्न सत्तासाझेदार कतिपय दलहरुको सुझाव पाएका प्रधानमन्त्री नेपालले सोमवार साँझ राष्ट्रपति समक्ष संसद अधिवेशनको सिफारिस पेश गरेका थिए।

सिफारिसपछि राष्ट्रपतिले लिएको निर्णयबारे उनका प्रेस सल्लाहकार राजेन्द्र दाहालले भने, “प्रधानमन्त्री माधवकुमार नेपालको सिफारिस अनुसार राष्ट्रपतिज्यूले पुस २५ गते दिउँसो संसद बैठक आव्हान गर्नु भएको छ।”

मर्म

गत बिहीबार एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेले अविलम्व संसद बैठक बोलाउने लिखित सहमति गरेका थिए।

त्यसकै मर्म अनुसार अधिवेशन डाकेको ठानिएको छ।

तर प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार रघुजी पन्त भन्छन्, “प्रधानमन्त्री पहिल्यै अधिवेशन बोलाउने पक्षमा हुनुहुन्थ्यो। बरु माओवादीले विशेष अधिवेशन डाकेकाले ढिलो भएको हो।”

माओवादीको अगुवाईमा डाकिएको संसदको विशेष अधिवेशन तीन दलबीचको दुई बुँदै सहमतिपछि अन्त्य गरिएको थियो।

ढिलो

उक्त सहमतिका क्रममा ‘एक साताभित्र बस्ने गरी संसद बैठक डाक्न’ भद्र सहमति भएको बताउँदै माओवादीले त्यसको निम्ति सरकारलाई दबाब दिइरहेको थियो।

तर बैठक दुई सातापछि डाक्नुको कारणबारे जिज्ञासा राख्दा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार पन्तले सहमतिलाई फरक ढंगले अर्थ्याए।

उनले भने, “अधिवेशन कहिले बोलाउने भनेर प्रधानमन्त्रीसँग सहमति भएको त होइन नि। एकहप्ताभित्र बैठक बोलाउने भनिएकोमा त्योभन्दा अगाडी नै बोलाउनु भयो।”

महिनौदेखि टुंगोमा पुग्न नसकेको प्रधानमन्त्री चुनावको छिनोफानो गर्ने ठानिएकाले संसद अधिवेशनलाई महत्वका साथ हेरिएको छ।