अन्मिनको वैकल्पिक संयन्त्रबारे दलहरुबीच बेमेल

  • 6 जनवरी 2011
माओवादी नेता प्रकाश
Image caption नेता प्रकाशका अनुसार अन्मिनको ठाउँ विशेष समितिले स्वत: लिन मिल्दैन

अन्मिन फर्किन नौ दिन बाँकी भएको बेला उसको प्रस्थान पछि उसले हेर्दै आएका कामकार्वाहीलाई कसरी व्यवस्थित गर्ने भन्नेबारे प्रमुख दलहरुबीच समझदारी बन्न सकेको छैन।

बिहिबार बसेको तीन मुख्य दलका शीर्ष नेताहरुको बैठकमा विशेष समितिलाई सक्रिय गराउन सुझाव दिनको निम्ति एउटा टोली गठन गर्ने सहमति भएपनि प्रस्तावित टोलीको कार्यादेशबारे समझदारी बन्न नसकेको नेपाली कांग्रेसका एकजना नेताले बताए।

माओवादीले भने अझैपनि अन्मिनको अवधि थप्नुपर्ने कुरामा जोड दिंदै आएको छ।

अल्झियो

यसअघिदेखिनै विशेष समितिको सचिवालयलाई अन्मिनले गरिआएको काम जिम्मा दिने चर्चा चलेको भएपनि त्यसको प्रक्रियाबारे मुख्य दलहरुबीच अझै बेमेल छ।

बिहिबारको बैठक पनि सोही मुद्दामा अल्झिएको नेपाली कांग्रेसका एकजना नेताले बताए।

“अन्मिन जान्छ भन्ने बुझाइ सबैमा देखिएको छ। उसको विकल्पको रुपमा विशेष समितिलाई क्रियाशील गराउने कुरा भयो। विशेष समितिलाई कसरी क्रियाशील पार्ने भन्ने कुरामा एउटा टोली बनाएर सुझाव दिने भन्ने भयो,” नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले बताए।

तर त्यो टोलीको कार्यादेश कस्तो हुन्छ भन्ने कुरा अझै छलफल गर्न बाँकी रहेकाले टोली गठन हुन नसकेको उनको भनाई थियो।

जटिलता

सो बैठकमा सहभागी माओवादीका नेताहरुले भने अन्मिनलाई नै राख्नुपर्नेमा जोड दिएका थिए।

अन्मिनको काम संविधानमा समेत उल्लेख गरिएकोले उसको सट्टा अरु संयन्त्र बनाउन जटिल भएको उनीहरुको भनाइ थियो।

तर उनीहरुले अन्मिनको विकल्पबारे अध्ययन गर्न सहमति जनाएका छन्।

“अन्मिन राख्दै नराख्ने हो भने संविधान, विस्तृत शान्ति सम्झौता, सेना तथा हतियार अनुगमन सम्झौता, संयुक्त अनुगमन समन्वय समिति र वैकल्पिक संयन्त्रबारे समग्रतामै छलफल गरौं भनेर हामीले भन्यौं। त्यस बारेमा गृहकार्य गर्न एउटा टोली बनाउँ भन्ने कुरा भएको हो,” माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले भने।

उनले चर्चा गरिएजस्तो अन्मिनको ठाउँ स्वत: विशेष समितिले लिने प्रस्ताव माओवादीलाई स्वीकार्य नभएको बताए।

विशेष समितिलाई त्यस्तो जिम्मा दिएर नेपाली सेनालाई अनुगमनबाट हटाउन खोजिएको हो भने आफुहरुलाई त्यो अमान्य हुने उनको जिकिर थियो।

सम्बन्धित समाचार