प्रधानमन्त्री चयनको अन्योल संसदले तुरुन्तै चिर्नेमा आशंका

  • 8 जनवरी 2011
रामचन्द्र पौडेल
Image caption कांग्रेस नेता पौडेल सत्रौं पटकको चुनावमापनि प्रधानमन्त्रीका एक्ला उम्मेदवार हुने छन्

झण्डै दुई महिनाको अन्तरालपछि आईतबारदेखि संसदको हिउँदे अधिवेशन शुरु हुन लागेको छ।

तर गएको ६ महिनादेखि तन्किएको प्रधानमन्त्रीय चुनावको श्रृंखलाभने तुरुन्तै अन्त्य हुने छाँट देखिएको छैन।

निर्णायक हुने भनिएको यसपालीको चुनावमा १६ पटक मैदानमा खडा भइसकेका नेपाली कांगेसका नेता रामचन्द्र पौडेलनै एक्ला उम्मेदवार छन्। बहुमतले हराइदिएपनि आफ्नो उम्मेदवारी स्वत खारेज नहुने उनको भनाई छ।

लम्बिएको श्रृंखला

बजेट पेश गर्ने बेला विपक्षी माओवादीका सभासदहरुले अर्थमन्त्रीमाथि हातपात गरेपछि उत्पन्न बबालका कारण अघिल्लो अधिवेशन अन्त्य गरिएको थियो।

त्योसंगै लगालग भएको प्रधानमन्त्रीय चुनावको श्रृंखलापनि रोकिएको थियो।

जुन श्रृंखलाले नयाँ अधिवेशनमा पुन जीवन प्राप्त गर्दैछ।

तर आईतबारकै बैठकमा भने चुनाव हुने छैन।

“सम्भवत आईतबार चुनावको नयाँ मिति तोकिनेछ। तत्कालीन सभासद डम्बरबहादुर खडकाको निधन भएको हुनाले आईतबारको बैठकमा शोक प्रस्ताव पारित गरिनेछ। शोक प्रस्ताव भएकोले आईतबार संसदमा अरु कुनै क्रियाकलाप हुँदैन,” संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले भने।

आईतबार बस्ने संसद कार्यव्यवस्था परामर्श समितिले तोकेपछि चुनावको नयाँ मिति प्रष्ट हुनेछ।

तर सो चुनाव सफल हुने कुरा अझै प्रष्ट छैन।

अन्योल कायमै

केही समय अगाडि सर्वोच्च अदालतले प्रधानमन्त्रीको चुनावमा कोही पनि तटस्थ बस्न नपाइने फैसला गरेको थियो।

लगत्तै एमालेले, कांग्रेस नेता पौडेलले उम्मेदवारी फिर्ता नलिए उनको विपक्षमा भोट हाल्ने निर्णय गर्‍यो।

सभामुख सुवास नेम्वाङ्गलेपनि बारम्बार विफल निर्वाचन प्रक्रिया लम्ब्याइरहन नसकिने बताइ आएका छन्।

तर एक्ला उम्मेदवार पौडेलको भनाई भने बेग्लै छ।

केही समय अगाडिसम्म कि आफुलाई जिताइदिनुपर्ने कि हराइदिनुपर्ने भन्ने गरेका पौडेल, अचेल बहुमत विपक्षमा भएपनि आफ्नो उम्मेदवारी स्वत नहट्ने बताउँछन्।

“त्यतिखेरको कुरा हामी पार्टिमा छलफल गर्छौं। त्यसका सबै राजनीतिक र कानुनी पक्षहरु विचार गरेर हामी निर्णय गर्छौं। अहिले नै हामी यसो गर्छौं भनेर किन भन्ने?” पौडेलको भनाई थियो।

जे होस्, प्रधानमन्त्रीको चुनावको अतिरिक्त झण्डै तीसवटा विभिन्न विधेयकहरुमाथि छलफल हुन सक्ने र सर्वोच्चका एकजना न्यायाधीशका विरुद्ध महाभियोगको कारवाही अगाडि बढ्न सक्ने यो अधिवेशन सबैको चासोको केन्द्रमा रहने पक्का छ।

सम्बन्धित समाचार