नेका नेता पौडेलको विपक्षमा मत हाल्न एमालेद्वारा ह्वीप

  • 11 जनवरी 2011
constituent assembly, nepal
Image caption मतदानमा कांग्रेस नेता पौडेलको विपक्षमा मत हाल्ने एमालेले ह्वीप जारी गरेको छ

सत्ताधारी गठबन्धनको नेतृत्व गरिरहेको दल नेकपा एमालेले सत्ता सहयात्री नेपाली कांग्रेसका प्रधानमन्त्रीका उम्मेदवार रामचन्द्र पौडेलको विपक्षमा मत दिने निर्णय नउल्ट्याएपछि बुधबार पौडेलको उम्मेदवारी खारेज हुने लगभग निश्चित भएको छ।

विपक्षमा मत हाले सरकारबाट अलग्गिने कांग्रेसको चेतावनीको अवज्ञा गर्दै मंगलबार एमाले संसदीय दलले पौडल विरुद्ध मतदान गर्न पार्टी ह्वीप जारी गरेको छ।

तर अझैपनि ठूला दलहरु आपसी जोडघटाउ र रस्साकस्सीमा लागिरहँदा नयाँ प्रधानमन्त्री चयनको अन्यौल अरु बढेको छ।

आफ्ना उम्मेदवार विरुद्ध मत हाले लोकतान्त्रिक गठबन्धनका रुपमा रहेको एमाले कांग्रेस सहकार्य टुट्ने चेतावनी कांग्रेसले सोमबार एमाले नेताहरुलाई दिएको थियो।

कोशिश

त्यसपछि एमालेका प्रभावशाली नेता के पी ओली र प्रधानमन्त्री माधवकुमार नेपाल पक्षधर नेताहरुले कांग्रेस नेता पौडेलको विपक्षमा मतदान नगर्न मंगलबार बसेको स्थायी समिति बैठकलाई प्रभावित पार्न खोजेका थिए।

तर, त्यो संभव भएन।

एमाले स्थायी समिति सदस्य भरतमोहन अधिकारी भन्छन्, “स्वाभाविक रुपमा बैठकमा भिन्न मतहरु प्रकट भए तर कुनै निर्णयमा पुग्न सकेनौं त्यसैले पुरानै केन्द्रीय कार्य समितिको निर्णय कायम छ अहिलेसम्म।”

अपेक्षा

तर बुधबार दिउसो मतदानको समय आउन्जेल पनि लोकतान्त्रिक गठबन्धन नटुटाउन एमालेले आफ्ना उम्मेददवारलाई मत हाल्ने अपेक्षा कांग्रेसको छ।

कांग्रेस संसदीय दलका उपनेता तथा पार्टी महामन्त्री प्रकाशमान सिंह भन्छन्, “भोली दुइबजेसम्म भनेको अझ हामीसँग धेरै समय बाँकी छ, त्यसबेलासम्म एमालेले आफ्नो निर्णयमा पुर्नविचार गरेर हाम्रा उम्मेदवारलाई मत हाल्छन् भन्ने ठानेका छौं।”

दिनभर आन्तरिक र अन्तरपार्टी बैठकमा व्यस्त रहेका प्रमुख दलका नेताहरु मंगलबार अबेरसम्म विभिन्न बैठक गरिरहेका छन्।

खारेज

प्रमुख विपक्षी माओवादीले पहिले देखि नै पौडेलको विपक्षमा मत हाल्दै आएको छ।

सोह् पटकसम्म मतदानमा तटस्थ बसेको एमालेले बुधबार तय गरिएको सत्रौं पटकको मतदान पौडैलको विपक्षमा गरेमा उनको उम्मेदवारी खारेज हुने लगभग निश्चित भइसकेको छ।

पौडेलको उम्मेदवारी खारेज भएपछि प्रधानमन्त्रीको निर्वाचन फेरि शुन्यमा पुग्ने ठानिएको छ।

त्यसपछिको प्रक्रिया तय गर्न मंगलबार बसेको संविधासभा बैठकले एउटा समिति समेत गठन गरिसकेको छ।

तर, नयाँ परिस्थितिमा नयाँ प्रधानमन्त्रीको चुनाव कसरी अगाडि बढ्ने हो र त्यसमा कसले बाजी मार्ने हो भन्ने प्रष्ट भइसकेको छैन।