अन्मिनको काम विशेष समिति मार्फत गर्ने सहमति

  • 14 जनवरी 2011
अन्मिन अधिकारीहरु
Image caption म्याद सकिनु एक दिन अगाडि अन्मिनको झण्डा झिकिएको थियो

अन्मिन फर्किन एक दिनमात्र बाँकी हुँदा सरकार र माओवादीबीच उसले गर्दै आएको काम गर्ने वैकल्पिक प्रक्रियाबारे सहमति भएको छ।

गएको चार वर्षदेखि नेपालको शान्ति प्रक्रियाको एउटा महत्वपूर्ण साक्षी संयुक्त राष्ट्रसंघीय निकाय अन्मिनले ‌विदाई पाउनै लागेको बेला उसको काम विशेष समिति अन्तर्गतको संयन्त्रमार्फत गर्ने सहमति भएको हो।

शनिबार मध्य रातमा सकिन लागेको उसको कार्यकालको औपचारिक अन्तको रुपमा शुक्रबार साँझ एउटा कार्यक्रममा उसको झण्डा झिकिएको थियो।

सहमति

शुक्रबार बिहान एक चरणको छलफलपछि दिउँसो सरकार र माओवादीबीच अन्मिनको ठाउँमा कसले जिम्मा लिने भन्नेबारे पुन कुराकानी भएको थियो।

अन्मिन जाने पक्कापक्कि भएपछि माओवादीले उसको सीमित उपस्थितिको प्रस्ताव गरेको थियो जसलाई सरकारले अस्वीकार गरिदियो।

कुराकानी अन्मिनको ठाउँलिने वैकल्पिक संयन्त्रको प्रकृतिमा केन्द्रित रहेको थियो।

त्यसपछि नेपाली सेना र माओवादी लडाकु दुवैको अनुगमन लगायतका कुरामा दुई पक्षबीच तीन बुँदे सहमति भएको छ।

“माओवादीको शिविरको कन्टेनरमा राखिएका तथा बाहिर सुरक्षाको लागि राखिएका हतियारहरुको अनुगमन तथा मतभेदको समाधान अब विशेष समितिले गर्नेछ। त्यसको निम्ति विशेष समितिबाट तीन जना र सचिवालयबाट तीन जना गरी ६ जना रहेको संयन्त्र बनाइने छ,” वार्तामा संलग्न सत्ताधारी एमालेका महासचिव ईश्वर पोखरेलले भने।

उक्त सहमति अनुसार विशेष समितिले उपलब्ध गराएको जनशक्तिसहितको टोलीले अनुगमन लगायतका काम तुरुन्तै शुरु गर्ने छ।

कार्यकाल अन्त्य

चार महिना अगाडि सरकार र माओवादीले गरेको सहमति अनुरुप शनिबार मध्यरातदेखि अन्मिनको कार्यकाल विधिवत अन्त्य हुने भएको छ।

शुक्रबार उसको झण्डा झिक्ने समापन समारोहमा सन्देश दिंदै राष्ट्रसंघका महासचिव बान कि मुनले अन्मिन गएपनि नेपालस्थित राष्ट्रसंघीय टोली तथा राजनीतिक मामिला विभाग मार्फत राष्ट्रसंघले नेपालको शान्ति प्रक्रियामा आफ्नो संलग्नता जारी राख्ने प्रतिबद्धता जनाए।

बितेको चार वर्षदेखि नेपालको शान्ति प्रक्रियाको विभिन्न उतारचढावको साक्षी अन्मिनको बहिर्गमनले तत्काल कुनै नाटकीय परिवर्तन नल्याएपनि, नयाँ प्रधानमन्त्री चयन गर्ने काम ६ महिनासम्म विफल रहेको र नयाँ संविधान लेख्ने काम अलपत्र परेको स्थितिमा उसको बिदाइले स्थिति असहज बन्न सक्ने कतिपय विश्लेषकहरुको आँकलन छ।