एमाले अध्यक्ष खनाललाई थप्पड

  • 20 जनवरी 2011
झलनाथ खनाल
Image caption अध्यक्ष खनालले आफ्नो एक घन्टा लामो मन्तव्यमा सो घटनाबारे कुनै टिप्पणी गरेनन्

प्रधानमन्त्रीको दावेदारको रुपमा देखिएका नेकपा एमालेका अध्यक्ष झलनाथ खनालको गालामा एकजना व्यक्तिले थप्पड हानेका छन्।

पूर्वी नेपालको सुनसरीमा बिहीबार आयोजित पार्टीको एउटा कार्यक्रममा उनीमाथि स्थानीय भरोल गाविसका देवीप्रसाद रेग्मीले थप्पड हानेका हुन्।

बत्तीको महसुल तिर्न इटहरी पुगेका उनी अध्यक्षबाट रातो टीका लगाएर पार्टी प्रवेश गर्नेहरुको लाइनमा लागेर खनाल नजिक पुगेका थिए।

घटनाका एकजना प्रत्यक्षदर्शी पत्रकार प्रेम वास्तोलाले भने, “टीका लगाइदिन खोज्दा एक व्यक्तिले शुरुमा खनालको हात पञ्छ्याए। अनि खनालको देब्रे गालामा एक थप्पड हिर्काए।”

चेतावनी

घट्ना लगत्तै एमाले कार्यकर्ताहरुले उनीमाथि कुटपीट गरेका थिए।

प्रहरीले रेग्मीलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ।

रेग्मीले सम्वाददाताहरुलाई भने, “शान्ति र संविधान लेखनमा ध्यान नदिएर नेताहरुले देश बिगारेकाले खप्न नसकेर चेतावनी स्वरुप थप्पड हानेको हुँ।”

तर त्यसपछि करीब एक घण्टा लामो भाषण गरेका खनालले घटनाबारे कुनै टिप्पणी गरेनन्।

कार्यक्रम सकिएपछि पनि उनले सञ्चारकर्मीहरुलाई कुनै प्रतिकृया दिएनन्।

छानबीन

एमाले सुनसरीका अध्यक्ष रेवतीरमण भण्डारीले भने, “हाम्रा आदरणीय अध्यक्षलाई हात हाल्ने प्रयत्न गर्नेबारे तथ्य खोज्दै छौं। अहिलेसम्म उनी माओवादीको राम्रो समर्थक भएको बुझिएको छ।”

एमाले सुनसरीले तीन सदस्यीय छानवीन समिति पनि गठन गरेको छ।

प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले प्रहरीले अनुसन्धानका क्रममा रेग्मीसँग सोधपुछ गरिहेको जानकारी दिए।

घटनालाई कतिपयले सत्ता हानथापमा व्यस्त नेताहरुप्रतिको आक्रोश र असन्तुष्टि भनि टिप्पणी गरेका छन्।