‘माओवादी नेतृत्वबारे कुरा गर्न एमाले, कांग्रेस तयार’

  • 21 जनवरी 2011
व्यवस्थापिका संसद
Image caption तीन दलीय बैठकमा सत्ताधारी दुई दलले आफ्ना पुराना अडान त्यागेको माओवादी नेताहरुले बताएका छन्

प्रमुख विपक्षी एकीकृत नेकपा माओवादीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन सकिने कुरामा छलफल गर्न अन्य दुई ठूला सत्ताधारी दल राजी भएको माओवादीका नेताले जनाएका छन्।

यसअघि माओवादीको नेतृत्व अस्वीकार गर्दै आएका नेपाली कांग्रेस र नेकपा एमालेले अब आफुहरु नेतृत्वको विषय खुला राखेर छलफल गर्न तयार भएको जनाएका छन्।

विषय खुला राखेपनि नेतृत्व गर्ने व्यक्ति चयन भइनसकेको भन्दै दलहरुले अनुरोध गरे बमोजिम राष्ट्रपति रामवरण यादवले सहमतिय सरकार बनाउन पाँच दिनको म्याद शुक्रबार थपेका छन्।

‘अडान त्याग’

यसअघि राष्ट्रपतिले दिएको सातदिने म्यादको शुक्रबार अन्तिम दिन थियो।

तर सहमतिय सरकार बनाउने लक्षण देखिएन।

बरु शुक्रबार बसेको तीन दलीय बैठकमा सत्ताधारी दुई दलले आफ्ना पुराना अडान त्यागेको माओवादीका नेताहरुले बताए।

“पहिलाजस्तो सेना समायोजन नभएसम्म माओवादीको नेतृत्वमा सरकार हुनै सक्दैन भन्ने शर्त अब रहेन। दुवै पार्टिहरुले अब यसबारे खुला ढंगले छलफल गर्न तयार छौं भन्नुभयो। माओवादीको नेतृत्वमा सरकार बन्नै सक्दैन भन्ने अडान परित्याग गर्नुभयो,” कुराकानीमा संलग्न माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले भने।

‘अडान यथावत’

नेपाली कांग्रेस र एमालेका नेताहरुले भने आफ्ना अडान यथावत नै रहेको केवल सबै विकल्पमा छलफल गर्नमात्र तयार भएको बताएका छन्।

छलफलपछि सम्वाददाताहरुसंग बोल्दै नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले भने, “हामीले हाम्रा अडान छाडेका होइनौं। सबै विषयमा कुरा गर्न तयार छौं भनेका हौं।”

नेपाली कांग्रेस र एमालेको पछिल्लो लचिलोपनालाई कतिपयले माओवादी लडाकूहरुलाई सेना समायोजन सम्बन्धी विशेष समिति अन्तर्गत ल्याउने औपचारिक कार्यक्रम शनिबारको लागि तय भएको विषयसंग जोडेर हेरेका छन्।

“यो कुरालेपनि केही सकारात्मक प्रभाव परेको हुन सक्छ। वहाँहरुको पुरानो अडान गलत थियो। त्यो सच्च्याउन यस्ता घटनाले सकारात्मक प्रभाव पारेको हुन सक्छ,” नेता प्रकाशले बताए।

दलहरुको आग्रह पछि शुक्रबारै राष्ट्रपति रामवरण यादवले सहमतिको सरकार बनाउने म्याद आउने बुधबारसम्मको लागि थपेका छन्।