माओवादी लडाकूहरु सरकार मातहत आएको घोषणा

  • 22 जनवरी 2011
माओवादी लडाकूहरु
Image caption घोषणासंगै लडाकूहरुको उनीहरुको पार्टि माओवादीसंग सम्बन्ध विच्छेद हुने ठानिएको छ

राष्ट्रसंघीय निकाय अन्मिनको अनुगमनमा बसेका माओवादीका लडाकूहरु शनिबारदेखि औपचारिक रुपमा सरकारको मातहतमा आएका छन्।

सरकारसंगको शान्ति प्रक्रिया अन्तर्गत हतियार बिसाएर शिविरमा बसिरहेका १९ हजार लडाकुहरु अब माओवादी पार्टीको अधीनबाट सरकारी समितिको अधीनमा हुनेछन्।

आकर्षक समारोह

सरकार र एकीकृत माओवादीका बीच केही दिन अघि भएको सहमति अनुसार लडाकूलाई समितिको अधीनमा ल्याउने काम चितवनको शक्तिखोर शिविरमा एक विशेष कार्यक्रमका बीच भएको थियो।

सैनिक पोशाकमा सजिएका लडाकूहरुले रंगीविरंगी ध्वजापताकाले बेहुली घरजस्तो सजाइएको शिविरभित्र कवाज र खेल प्रदर्शन गरे।

विभिन्न जातजातिको भेषभूषा लगाएका लडाकूहरुले सांस्कृतिक झाँकिहरुपनि प्रदर्शन गरे।

मार्च पास तथा राष्ट्रिय गीतहरुको धुनसंगै शिविरमा नेपाली राष्ट्रिय झण्डा फहर्‍याएर लडाकूहरुको औपचारिक हस्तान्तरण गरिएको थियो।

समारोहमा राजनीतिक दलका शीर्ष नेताहरु तथा विदेशी कुटनीतिज्ञहरुमात्र नभई नेपाली सेनाका सेनापति लगायतका उच्च सुरक्षा अधिकारीहरु समेत उपस्थित थिए।

घोषणा

शनिबारदेखि उनीहरुको कमाण्ड एन्ड कन्ट्रोल अर्थात आदेश र नियन्त्रण मन्त्रिपरिषद अन्तर्गतको लडाकूहरुको समायोजन, रेखदेख र पुनर्स्थापनसम्बन्धी विशेष समिति मातहत आएको घोषणापत्रमा प्रधानमन्त्री माधवकुमार नेपाल र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरे।

“यस अघिसम्म तपाईंहरु माओवादीका कार्यकर्ता हुनुहुन्थ्यो। अब तपाईंहरु अन्तरीम संविधान बमोजिम गठित विशेष समिति अन्तर्गत आउनुभएको छ,” प्रधानमन्त्री तथा विशेष समिति संयोजक नेपालले बताए।

हुन त संविधानसभाको निर्वाचन पछि गठित प्रचण्ड नेतृत्वको सरकारको पालामापनि लडाकूहरु विशेष समिति अन्तर्गत आएको घोषणा भएको थियो।

तर त्यो कार्यान्वयन हुन सकेन।

“त्यही घोषणालाई व्यवहारिकता प्रदान गर्न आज यो भव्य समारोह गरिएको हो,” प्रचण्डले आफ्नो सम्बोधनमा भने।

घोषणापछि शिविरमा रहेका लडाकूहरुले खुशी प्रकट गरेका थिए।

“हामीलाई धेरै खुशी लागेको छ। यत्रो दिन शिविरमा बस्दा हामीलाई दिक्क लागिसकेको थियो,” एकजना लडाकूले बीबीसीलाई बताए।

महत्वपूर्ण कदम

अन्मिन फर्किएको एक साता नवित्दै भएको माओवादी लडाकूहरुको हस्तान्तरणलाई शान्ति प्रक्रियाको एउटा निकै महत्वपूर्ण कदमको रुपमा लिइएको छ।

उनीहरुको विभिन्न सरकारी सुरक्षा निकायहरुमा गरिने भनिएको समायोजन र पुनर्स्थापनाका कुराहरु टुंग्याउन भने अझै निकै काम गर्न बाँकि छ।

तर गत केही समययता राजनीतिक अस्थीरताका कारण शान्ति प्रक्रिया ठप्प भएको गह्रुंगो अनुभूतिलाई भने शनिबारको कार्यक्रमले केही हलुका बनाइदिएको धेरैले ठानेका छन्।