तीन दलका शीर्षस्थ नेताहरुको बैठक विफल

  • 31 जनवरी 2011
वरिष्ठ नेताहरु
Image caption राष्ट्रिय सहमतिको सरकार बनाउन दलहरुले गरेको दौडधूप अझै सार्थक बन्न सकेको छैन

बहुमतीय प्रणालीमा गए पनि राष्ट्रिय सहमतिको सरकार बनाउन भन्दै एक पछि अर्को बैठक गरिरहेका प्रमुख दलहरुले अब सहमतिको सरकार बन्ने संभावना लगभग सकिएको बताएका छन्।

बहुमतीय आधारमा प्रधानमन्त्री चयन गर्न ब्यवस्थापिका संसदमा बिहिबार मतदान हुने कार्यक्रम छ।

तर सोमबार बसेको तीन दलका शीर्ष नेताहरुको बैठक पछि पनि बिहिबारको चुनावमा उनीहरुले भन्दै आए जस्तो राष्ट्रिय सहमतिको आधारमा प्रधानमन्त्री चयन हुने कुनै संकेत देखिएन।

बिहिबारको प्रधानमन्त्रीको चुनावको लागि दलहरुले बुधबार सम्ममा आ-आफ्नो उम्मेदवारी दर्ता गरिसक्नु पर्नेछ।

असहमति

तर उम्मेदवारी दर्ता गर्न दुई दिन बाँकी रहंदासम्म प्रधानमन्त्रीको कुनै साझा उम्मेदवारका विषयमा सहमति त परैको कुरा, त्यसबारे गम्भीर छलफल समेत भएको छैन।

नेपाली कांग्रेसका नेता डाक्टर रामशरण महतका अनुसार सोमबार सिंहदरबारमा बसेको तीन दलका शीर्षस्थ नेताहरुको वैठकमा पनि त्यसबारे कुनै छलफल हुन सकेन।

“सबै पक्षले पुरानै कुरा गरेकाले कुनै सहमति भएन।”

सो बैठकमा एकीकृत माओवादीका तर्फबाट सहभागी एक उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशका अनुसार तीनै दलले आ-आफ्नै नेतृत्वमा नयाँ सरकार बन्नु पर्ने अडान राखेका कारण तीन दलको अर्को बैठक अनिश्चित भएको छ।

‘अनिश्चय’

“सहमति हुन नसकेपछि अर्को बैठक कहिले बस्ने हो थाहा छैन।”

केही दिन अघि गोकर्णस्थित एक रिसोर्टमा भएको तीनदलका शीर्षस्थ नेताहरुको वैठकमा शान्ति प्रक्रियाका विषयमा सहमति भए नेपाली कांग्रेस र नेकपा एमाले दुबैलाई माओवादी नेतृत्वको सरकार स्वीकार्य हुने कुरा बाहिर आएको थियो।

तर सोमबारको बैठकको विफलतापछि सो संभावना टरेको नेता प्रकाशले बताए।

उनले भने, “अब सहमति हुने कुरा भयो भने मात्र तीन दलको अर्को बैठक बस्छ।”

नयां समीकरण

सोमबार नै शीर्ष नेताहरुको बैठकले तीन दलीय कार्यदलले तयार पारेको माओवादी सेना समायोजनको ढाँचाबारे समेत सहमति जुटाउने भनिएको थियो।

तर सरकार निर्माणका विषयमा कुराकानी अघि नबढेकाले सो विषय ओझेलमा परेको छ।

अब प्रधानमन्त्रीको चुनाव नजिकिंदै गर्दा प्रमुख दलहरुको ध्यान राष्ट्रिय सहमतिको सरकारको स्वरुपतिर भन्दा पनि नयाँ गठबन्धन र समीकरणको खेल तर्फ तानिन सक्ने संभावना झन्, झन् प्रबल भएको देखिएको छ।