प्रधानमन्त्री खनालद्वारा शपथ, मन्त्रालय बाँडफाँडमा ताजा विवाद

  • 6 फेब्रुअरी 2011
प्रधानमन्त्री झलनाथ खनाल तस्वीर कपीराइट AFP
Image caption प्रधानमन्त्री खनालले आईतबार मन्त्रिपरिषदको प्रारम्भिक अनुहार अघि ल्याउन सकेनन्

नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले गणतन्त्र स्थापनापछिको चौथो प्रधानमन्त्रीका रुपमा राष्ट्रपति रामवरण यादवबाट आईतबार पद र गोपनियताको शपथ लिएका छन्।

यसका साथै सात महिना सम्म कामचलाउ सरकारको भर पर्नु परेको अप्ठेरो स्थितिबाट देशले मुक्ति पाएको छ।

शुरुमै विवाद

तर सत्ताको मुख्य साझेदार दल माओवादीसंग मन्त्री बाँडफाँडमा कुरा मिल्न नसक्दा केही मन्त्रीहरुलाई आईतबारनै शपथ दिलाउने प्रधानमन्त्रीको प्रयास विफल भयो।

उनको सरकारको सबैभन्दा बलियो आड माओवादीले मन्त्रालय बाँडफाँडमा चित्त नबुझाएपछि उनले एक्लै शपथ लिनु पर्‍यो।

बिहान बसेको एमाले स्थायी कमिटिको बैठकले पार्टीको तर्फबाट तीन जना मन्त्रीहरुको नाम तय गरेको थियो।

“स्थायी समिति सदस्यहरु भरतमोहन अधिकारी, विष्णु पौडेल र पोलीटब्युरो सदस्य गंगालाल तुलाधरलाई मन्त्रिपरिषदमा पठाउने निर्णय भएको छ। अहिले सानो टोली पठाउने र बाँकी पछि निर्णय गर्ने कुरा भएको छ,” एमाले सचिव युवराज ज्ञवालीले बताए।

उनले प्रधानमन्त्रीकै दलबाट गृह र अर्थ मन्त्री राखे सहज हुने एमालेको भनाइ रहेको बताए।

लगत्तै बसेको दुई दलको बैठकमा एमाले नेता केपी ओली निकट मानिएका विष्णु पौडेलको निम्ति गृह मन्त्रालय माग गरिएको प्रसंग उठेपछि दुई दलबीच कुरा विग्रिएको थियो।

गृह मन्त्रालय लगायतका केही शक्तिशाली र प्रभावशाली मन्त्रालयमा आफ्नो दावी गरेको माओवादीले कुनै मन्त्रीकोपनि शपथ आईतबार हुन नसक्ने निर्णय गर्‍यो।

“गृह मन्त्रालय त हामीले लिने सहमति पहिले नै भएको हो। त्यसैले केही मन्त्रीको स्वाट्ट शपथ गराइहाल्ने कुरा हामीलाई मान्य छैन। हामीलाई कुनकुन र अरुलाई कुनकुन मन्त्रालय दिने भनेर प्रष्ट टुंगो नलागेसम्म हामीले मन्त्री पठाउन मिल्दैन,” माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले भने।

चुनौती

प्रधानमन्त्रीले शपथ नलिंदै शुरु भएको दुई सत्ताधारीबीचको किचलोले संसदका दुई तिहाइ सदस्यको समर्थन पाउने आशा गरेको खनाल नेतृत्वको सरकारको जग यसअघिका अस्थिर सरकारहरुभन्दा खासै भिन्न हुने छाँट नदेखिएको कतिपय विश्लेषकहरुको भनाइ छ।

एकातिर सत्ताधारी दलबीचनै मनमुटाव शुरु भएको बेला संसदको दोस्रो ठूलो दल नेपाली कांग्रेसले आफु प्रतिपक्षमा बस्ने निर्णय गरेर नवनिर्वाचित प्रधानमन्त्री झलनाथ खनालको चुनौती थपिदिएको छ।

खनाल निर्वाचित भएपछि आईतबार पहिलोपल्ट बसेको कांग्रेस केन्द्रिय कार्यसमितिको बैठकले एमाले र माओवादी गठबन्धनको विरोध गरेको छ।

उसले सरकारमा सहभागी नहुने तर रचनात्मक विरोधीको भूमिका निर्वाह गर्ने पनि जनाएको छ।