मन्त्रिपरिषद् बनाउन निर्णायक प्रयास हुँदै

  • 9 फेब्रुअरी 2011
प्रधानमन्त्री खनाल तस्वीर कपीराइट BBC World Service
Image caption प्रधानमन्त्री खनालले शपथ लिएकै दिन आइतवार मन्त्रिपरिषद बनाउन चाहेका थिए

गृह मन्त्रालयमा अडकिएको मन्त्रिपरिषद गठनबारे सहमति जुटाउन सत्ता-गठबन्धनका दुई दलका शीर्ष नेताहरु निर्णायक प्रयास गरिरहेका छन्।

दुबै दलका नेताहरुले बुधवार साँझ अवेरसम्म भए पनि सहमति बनाएर बिहवार बिहान सानो मन्त्रिमण्डल गठन गर्ने प्रयास भइरहेको बताए।

माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले भने, “प्रधानमन्त्रीले पार्टीभित्रै छलफल गरेर फेरी हामीसँग कुरा गर्ने भनिएकाले हामी त्यसकै प्रतिक्षामा छौं।”

दुबै दल गृह मन्त्रालय छाड्न तयार नभएकैले सानो मन्त्रिमण्डल बनाएर भए पनि काम थाल्ने प्रधानमन्त्री खनालको प्रयास बुधवार समेत सार्थक हुन सकेन।

त्यसपछि प्रधानमन्त्री खनाल आफै माओवादी नेतृत्वसँग निर्णायक कुरा गर्ने तयारीमा जुटेका थिए।

पछि हट्ने

प्रधानमन्त्री झलनाथ खनाल गृह मन्त्रालय छाडेर भएपनि सहमति जुटाउने मनस्थितिमा पुगेको उनी निकट नेताहरुले बताएका छन्।

तर ती नेताहरुका अन्सार केही हप्तापछि मात्र माओवादीलाई गृह मन्त्रालय दिने गरी सहमति जुटाउने प्रधानमन्त्रीको प्रयास हुनेछ।

माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा उनले गृह मन्त्रालय एमालेलाई दिएका थिए।

कांग्रेसले रक्षा मन्त्रालय माग्दा भने माओवादीले मनेको थिएन।

अहिले भने रक्षा छाडेर माओवादीले किन गृह मन्त्रालयमा जोड गरिरहेको छ?

माओवादी नेता प्रकाशको जवाफ थियो, “एमालेका साथीहरुले रक्षा मन्त्रालय हामीलाई दिनै नसकिने भनेपछि लचिलो भएर हामीले गृह मन्त्रालयमा सहमत भएका हौं।”

प्रधानमन्त्री चुनावको दिन सात बुँदे सहमति गर्दा एमाले नेतृत्व आफ्नो दललाई गृह मन्त्रालय दिन सहमत भएकैले त्यसमा दावी गरेको माओवादी नेताहरुको भनाइ छ।