सहमति सच्याइए सरकार ढल्ने प्रचण्डको भनाइ

  • 20 फेब्रुअरी 2011
झलनाथ खनाल तस्वीर कपीराइट BBC World Service
Image caption प्रतिकूलताका माझ पनि प्रधानमन्त्री खनालले सरकारले छिट्टै पूर्णता पाउने बताएका छन्

आफु चुनिएको धरातल अर्थात माओवादीसंगको सात बुँदे सहमतिलाई आफ्नै दलबाट हल्लाउन थालिएपछि प्रधानमन्त्री झलनाथ खनालले अझै सरकारलाई पूर्ण आकार दिन सकेका छैनन्।

एमालेका असन्तुष्ट नेताहरुका अडान नै हावी भइ सात बुँदे सहमति साँच्चिकै उम्किनै नसक्ने धरापमा पर्‍यो भने प्रधानमन्त्री खनाल नेतृत्वको सरकार पनि धरापमा पर्ने छ।

यसको संकेत अरु कोहीले नभएर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैले दिएका छन्।

यदि एमालेका असन्तुष्ट नेताहरुले भनेजस्तै सात बुँदे सहमतिलाई सच्याइयो भने सरकारनै ढल्ने चेतावनी प्रचण्डले दिए।

‘असर’

आइतबार बिराटनगरमा संवाददाताहरुसँग कुरा गर्दै उनले सरकार गठनमा देखिएको विवाद मन्त्रालय बांडफांडको विषय नभएको बताए।

“त्यही सहमतिका कारण यो सरकार बनेको छ, अब त्यो रहेन भने यो सरकार नै ढल्छ।”

उनका अनुसार नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री झलनाथ खनालसँग हालै भएको सात बुँदे सहमति कार्यान्वयमा आएको अवरोधको असर सरकार गठनमा परेको हो।

उनी आफ्नो दलको कार्यक्रममा भाग लिन उपाध्यक्षद्वय मोहन वैद्य किरण र डाक्टर बाबुराम भट्टरासंगै विराटनगर पुगेका थिए।

‘पूर्णता’

अर्कोतिर आफ्नो सरकारको मेरुदण्ड अर्थात एकीकृत माओवादीका अध्यक्ष प्रचण्डको त्यस्तो चेतावनी सार्वजनिक भएकै दिन प्रधानमन्त्री झलनाथ खनालले भने सरकारले छिट्टै गति लिने दावी गरेका छन्।

कति छिट्टै भनेर उनले दिन त किटान गरेनन्, तर प्रधानमन्त्री खनालले केही दिनमै सरकारलाई विस्तार गरी पूर्णता दिइने बताए।

पश्चिमी शहर पोखरामा संवाददाताहरुसँग कुरा गर्दै उनले भने, “सरकार गठनमा केही ढिलाइ भएको छ, तर यथाशीघ्र सरकारले पूर्णता पाउँछ।”

प्रधानमन्त्री निर्वाचित हुनुअघि खनालले प्रचण्डसँग गरेको सात बुँदे सहमतिबारे नेकपा एमाले भित्रको असन्तुष्टि चर्किने क्रम रोकिएको छैन।