सहमति संशोधन गर्ने एमालेको प्रस्तावप्रति माओवादी असन्तुष्ट

  • 23 फेब्रुअरी 2011
माओवादी नेताहरु
Image caption सात बुँदे संशोधन गर्ने एमालेको प्रस्तावबारे माओवादीले बिहिबार छलफल गर्दैछ

नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल र एकीकृत माओवादी अध्यक्ष प्रचण्डबीच भएको सात बुँदे सहमतिको एमालेले आफू अनुकुल व्याख्या गरेको भन्दै माओवादीले चर्को असन्तुष्टि व्यक्त गरेको छ।

बुधबार दुबै पक्षका शीर्ष नेताहरुबीचको बैठकमा सो सहमतिलाई संशोधन गर्ने एमालेको प्रस्तावबारे उसको स्पष्ट धारणा आउनु् पर्ने माग माओवादीले गरेको थियो।

तर अब के गर्ने भन्ने निर्णय बिहिबार बस्ने स्थायी समितिको बैठकपछि मात्र लिइने माओवादीले जनाएको छ।

सात बुँदे सहमति सच्याइए सरकार ढल्ने बताएको माओवादी र सो सहमतिलाई संशोधन गर्ने प्रस्ताव गरेको एमालेका शीर्ष नेताहरुबीच एमालेको आन्तरिक बैठकहरु सकिएको भोलिपल्ट औपचारिक संवाद भएको हो।

‘व्याख्या’

सिंहदरबारमा भएको एमाले-माओवादी बैठकका एकजना सहभागी माओवादी नेता नारायणकाजी श्रेष्ठ प्रकाशले दुई अध्यक्षबीच भएको सहमतिलाई आफ्नै ढंगले व्याख्या गर्ने एमालेको निर्णय प्रति माओवादीको असन्तुष्टि रहेको संवाददाताहरुलाई बताए।

“सात बुँदे सहमतिलाई अनुमोदन गरिएको भनिएको सन्दर्भमा यो भनेको के हो भनेर उहाँहरुलाई सोध्यौं।”

गत माघ २० गते भएको सो सहमति चर्को विवादको घेरामा परेपछि एमालेको पोलिटब्युरोले सो सहमतिका केही बुँदा संशोधन गर्न गरेको प्रस्तावलाई मंगलबार उसको केन्द्रिय समितिले सर्वसम्मतिले अनुमोदन गरेको थियो।

सिंहदरबारमा भएको दुईपक्षीय बैठकपछि एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सात बुँदे सहमतिलाई थप प्रष्ट पार्न माओवादी तयार हुनु पर्नेमा जोड दिए।

उनले भने, “उहाँहरु सहमतिलाई थप प्रष्ट पार्नको निम्ति तयार हुनुभयो भने हामी संगै मिलेर जान सक्छौं।”

विवाद

माओवादी सेनाको छुट्टै सुरक्षा फौज बनाउने, आलो पालो सरकारको नेतृत्व गर्ने जस्ता सात बुँदे सहमतिका शब्दावली चर्को विवादको घेरामा छन्।

सो सहमतिबारेको विवादका चर्किएका कारण न त एमाले अध्यक्ष झलनाथ खनाल नेतृत्वको सरकारले पुरा आकार लिन पाएको छ; न त शान्ति प्रक्रियाका थाँती रहेका कामहरु पुरा गर्ने तर्फ कुनै प्रगति नै हुन सकेको छ।

तर बिहिबार बस्ने भनिएको माओवादीको आन्तरिक वैठकले सात बुँदे सहमति, खनाल नेतृत्वको सरकार र शान्ति प्रक्रियाको भविष्यका बारेमा गर्ने निर्णय महत्वप‍ूर्ण हुनेछ।