मन्त्रीपरिषद विस्तारको अन्योल जारी

  • 26 फेब्रुअरी 2011
माओवादीका शीर्ष नेताहरू
Image caption माओवादीको स्थायी समिति बैठकले यथास्थितिमा सरकारमा नजाने निर्णय गरेको छ

प्रधानमन्त्री झलनाथ खनाल र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार विहान भएको एक्लाएक्लै भेटपछि माओवादी सरकारमा सामेल भइहाल्ने र तत्काल त्यसो हुन नसक्ने परस्परविरोधी धारणा बाहिर आएका छन्।

प्रधानमन्त्री खनालका सहयोगीहरुले सके आइतबार नत्र सोमबारसम्म माओवादी सरकारमा सामेल हुने बताएपनि माओवादीले भने तत्काल त्यसको कुनै संभावना नरहेको दोहोर्‍याएको छ।

दुइ दल बीचको असहमतिले गर्दा सरकार विस्तार हुन नसकिरहँदा प्रधानमन्त्री निवास बालुवाटार पुगेर माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री खनालसँग एक्लै भेटेका थिए।

सहमति

त्यस भेटमा प्रधानमन्त्री खनालसँग गृह मन्त्रालय राख्ने गरी माओवादी सरकारमा सामेल हुन सहमत भएको प्रधानमन्त्रीका राजनीतिक सहयोगी प्रकाश ज्वालाले बताएका छन्।

उनले भने, “आज राम्रो कुराकानी भएको छ, हाललाई गृहमन्त्री प्रधानमन्त्रीसँग राख्नेगरी सहमति भएको छ, सके भोलि नत्र पर्सीसम्म मन्त्रिपरिषद विस्तार हुन्छ।”

शुक्रबार साँझ मात्रै माओवादीको स्थायी समिति बैठकले यथास्थितिमा सरकारमा नजाने निर्णय गरेको थियो।

माओवादी प्रवक्ता दिनानाथ शर्माका अनुसार माओवादी स्थायी समितिको त्यही निर्णयबारे जानकारी गराउन प्रचण्ड बालुवाटार पुगेका हुन्।

नीति

शर्माले भने, “सातबुँदे प्रतिको प्रतिबद्धता र त्यसको कार्यान्वयनको तत्परता नभएसम्म हामी सरकारमा नजाने भन्ने हाम्रो अहिलेको नीति हो।”

प्रधानमन्त्री बनेको २४ दिन पुगेपनि प्रधानमन्त्री झलनाथ खनालले न आफ्ना पार्टीका मन्त्रीलाई मन्त्रालय तोक्न सकेका छन् न आफूलाई भारी मत दिएर प्रधानमन्त्री बनाइदिएको दल माओवादीलाई सरकारमा समेट्न नै।

शनिवारको भेटघाटपछि पनि यो गतिरोध तत्काल तोडिने संकेत देखिएको छैन।