एमाले-माओवादी ‘निर्णायक’ वार्ता निष्कर्षहीन

  • 28 फेब्रुअरी 2011
माओवादी नेताहरु
Image caption सात बुँदे सहमतिको पुन:व्याख्या गरेको एमाले सहमतिबारे अस्पष्ट रहेको माओवादी भनाई छ

गृह मन्त्रालय कस्ले राख्ने भन्नेबारेको विवाद समाधान नभएकोले सोमबार भएको नेकपा एमाले र एकीकृत माओवादीका शीर्ष नेताहरुबीचका वार्ताहरु विफल भएको बताइएको छ।

झलनाथ खनाल नेतृत्वको सरकारलाई पूर्णता दिने सोमबारको कसरत विफल भएपनि दुबै पक्षले छिट्टै सरकारले पुरा आकार लिने आशाहरु भने त्यागिसकेका छैनन्।

मन्त्रिमण्डल विस्तार गर्न निर्णायक हुने भनिएको सोमबारका वार्ताहरुलाई निकै चासोका साथ हेरिएको थियो।

तर त्यस्ले नयाँ प्रधानमन्त्री चुनिएपछि उत्पन्न गतिरोध तोड्ने दिशामा ठोस प्रगति हासिल गर्न सकेन।

‘अस्पष्ट’

प्रधानमन्त्री निवाश बालुवाटारमा दुबै अध्यक्षबीच भएको वैठक लगत्तै सिंहदरबारमा एमाले र माओवादीका शीर्ष नेताहरुबीच अर्को वैठक भएको थियो।

सो वैठकमा माओवादीका तर्फबाट एक सहभागी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले एमाले अझै अस्पष्ट रहेकोले वार्ता विफल भएको प्रतिक्रिया संवाददाताहरुलाई दिए।

“सात बुँदे सहमति क्रियान्वयन गर्ने सम्वन्धमा उहाँहरु अझै प्रष्ट हुनुभएन।

त्यसैले हामीहरुले उहाँहरुलाई प्रष्ट हुन आग्रह गरेका छौं।”

विफल

गत माघ २० गते नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल र एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको सात बुँदे सहमति पछि खनाल प्रधानमन्त्री त चुनिए।

तर सो सहमतिबारेको विवाद चुलिएका कारण सरकारले पुरा आकार लिन सकेको छैन।

गतिरोध तोड्न गरिएका सबै वार्ताहरु विफल रहेका छन्।

तर सोमबारको एमाले-माओवादी वार्तामा एमालेका तर्फबाट सहभागी नेता केपी ओलीले गृहमन्त्रालय बारेको विवाद छिट्टै टुङ्गिने आशा व्यक्त गरे।

“उहाँहरु गृहमन्त्रालयको विवादमा अल्झिएर बस्नु हुन्न भन्ने कुरा उहाँहरुले सार्वजनिक रुपमै भनिरहनु भएको छ।”

‘सम्भावना’

माओवादी अध्यक्ष प्रचण्डले पनि सोमबार एउटा सार्वजनिक कार्यक्रममा बोल्दै आफ्नो दल छिट्टै सरकारमा जाने र सरकारले छिट्टै पूर्णता पाउने सम्भावना रहेको संकेत गरे।

शान्ति प्रक्रिया टुङ्गिनसकेको भन्दै माओवादीलाई सुरक्षा सँग सम्बन्धित मन्त्रालय दिन नमिल्ने एमालेको अडान सार्वजनिक भइसकको छ।

त्यसैले यतिबेलाको प्रश्न हो: आफूले रोजेको गृह मन्त्रालय नपाएपनि, के माओवादी पक्ष उस्लाई दिन सकिने भनिएको अर्थ, वरिष्ठ उपप्रधानमन्त्री जस्ता पद लिएर मन्त्रिमण्डलमा सहभागी होला?