माओवादी सरकारमा सामेल हुने

  • 2 मार्च 2011
माओवादी नेता कृष्णबहादुर महरा
Image caption महराको नेतृत्वमा सरकारमा सामेल हुने माओवादी निर्णयले अन्योल केही चिरेको छ

एकीकृत नेकपा माओवादीको बुधबारको स्थायी समिति बैठकले तत्काल सरकारमा सहभागी हुने निर्णय गरेको छ।

कृष्णबहादुर महराको नेतृत्वमा ११ जनाको टोली मन्त्रीपरिषदमा सहभागी बन्ने निर्णय गरेको माओवादी प्रवक्ता दिनानाथ शर्मा बताउँछन्।

उनी भन्छन्, “एमालेसँग पोर्टफोलियो निश्चित भएपछि अरु को को पठाउने निर्णय गर्नेछौं।”

विवाद

करिब एक महिना अघि प्रधानमन्त्री चयन भएपनि मन्त्रालय बाँडफाँडमा विवाद भएपछि प्रधानमन्त्री झलनाथ खनालले मन्त्रीपरिषद विस्तार गर्न पाएका थिएनन्।

यस अघि एमालेका भरतमोहन अधिकारीलाई उपप्रधान मन्त्री तथा अर्थमन्त्री र दुइजना विना विभागीय मन्त्री बनाइएको थियो।

माओवादीले गृहमन्त्रालय आफ्नो भागमा पर्नुपर्ने तर्क सहित एकमहिनादेखि गठबन्धन सहयात्री एमालेसँग मोलमोलाई गर्ने प्रयास गरेको थियो।

खनाललाई प्रधानमन्त्री बनाउन मत हाल्नु अघि एमाले र माओवादी अध्यक्षबीच भएको सातबुँदे गोप्य लिखित सहमति बमोजिम गृह आफुले पाउनुपर्ने माओवादीको अडान थियो।

शर्त

गृहमन्त्रालय अहिलेलाई प्रधानमन्त्री खनालसँगै राख्ने शर्तमा माओवादी सरकारमा जान तयार भएको बुझिएको छ।

आफ्नै प्रधानमन्त्रीत्वमा रहेको सरकारबाट अकस्मात राजीनामा दिएको झण्डै २२ महिना पछि माओवादी सरकारमा फर्कन लागेको छ।

तत्कालीन सेनापतिलाई एकलौटी रुपमा बर्खास्त गर्ने प्रयत्न सफल नभएपछि सत्ताबाट बाहिरिएको माओवादीले शुरुदेखि नै सरकारमा फर्कन चाहेको थियो।

माओवादीले आफ्नै नेतृत्वमा सरकार बनाउने प्रयत्न सफल नभएपछि माओवादीप्रति नरम भनेर चिनिएका एमाले अध्यक्ष झलनाथ खनाललाई मत दिएपछि एकमहिना अघि खनाल प्रधानमन्त्री बनेका हुन्।

प्रयत्न

खनाललाई प्रधानमन्त्री बनाउनु अघि आलोपालो प्रधानमन्त्री बन्ने र गृह लगायतका मन्त्रालयमा सम्मानजनक बाँडफाँड गर्ने गरी खनालसँग गरेको सात बुँदे गोप्य लिखित सहमति गरेको माओवादीले एक महिनासम्म गृहमन्त्री फुत्काउन प्रयत्न गरेको थियो।

काठमाडौंस्थित बीबीसीकी एकजना संवाददाता भन्छिन्, माओवादी र एमाले अध्यक्ष झलनाथ खनाल गठबन्धनले एमालेभित्रकै एउटा पक्ष र नेपाली कांग्रेस लगायत गैर बामपन्थी समूहलाई सशंकित गराएपनि संविधान सभाको सबैभन्दा ठूलो दल माओवादी सरकारमा समावेश भएकाले शान्ति प्रक्रिया र संविधान लेखनले गति पाउने अपेक्षा राखिएको छ।