आन्तरिक किचलोले मन्त्री चयन प्रभावित

  • 3 मार्च 2011
माओवादी नेताहरु
Image caption माओवादीभित्रको मन्त्री चयन विवादले मन्त्रीपरिषद विस्तारमा थप ढिलाई भएको छ

मन्त्री बन्न चाहनेको लर्को धेरै लामो भएपछि माओवादीले मन्त्रीपरिषदमा पठाउने व्यक्तिहरु छान्न सकेन।

माओवादीभित्रै गृहमन्त्रीका दावेदार पनि दुइजना भएपछि बिहिबार बसेको माओवादी स्थायी समितिको बैठक कुनै निर्णय बिना टुंगियो।

सरकारमा सामेल हुने निर्णय गरेको भोलीपल्ट बसेको माओवादी स्थायी समिति बैठकको मुख्य एजेन्डा मन्त्रीपरिषदमा पठाउने नेताहरुको चयन गर्नु थियो।

तर मन्त्रीमण्डलमा जानेको धेरै लामो सूचीबाट ११ जना चयन गर्न माओवादीलाई निकै गाह्रो भएको देखियो।

कठिन

माओवादी सचिव सी पी गजुरेलले भने, “हाम्रो आन्तरिक सूची नै धेरै लामो भएकाले चयन गर्न कठीन भयो।”

गजुरेलकै अनुसार माओवादीले ११ मन्त्री र अन्य राज्य तथा सहायक मन्त्री पाउने सहमति एमालेसँग गरेको छ।

बिहिबारको बैठकमा पछि प्राप्त हुन सक्ने गृहमन्त्रालयको जिम्मेवारी कसले लिने भन्नेमा पनि ठूलै विवाद भएको थियो।

मतभेद

समाचार श्रोतका अनुसार देव गुरुङ र वर्षमान पुन मध्ये कसलाई अहिले विना विभागीयमा राखी पछि गृह मन्त्री बनाउने भन्ने विषयमा उत्पन्न भएको मतभेदले बैठक निष्कर्षमा पुग्न नसकेको हो।

अहिलेलाई प्रधानमन्त्री झलनाथ खनालसँगै गृहमन्त्रालय राख्ने र पछि माओवादीलाई प्राप्त हुने सहमति अनुसार माओवादी सरकारमा सामेल हुन लागेको माओवादी नेताहरुले बताउँदै आएका छन्।

कृष्णबहादुर महराको नेतृत्वमा सरकारमा सामेल हुने निर्णय गरेपनि अरु कुनै पनि व्यक्तिको नाम तय भइ नसकेको बताइएको छ।

प्रधानमन्त्री बनेको एक महिना सम्म एकजना मन्त्रीलाई मात्र जिम्मेवारी दिन सकेको सरकारलाई पूर्णता दिन माओवादीको किचलोले थप ढिलाई गर्ने निश्चित छ।

यस्तो अवस्थामा तराइ केन्द्रित दल लगायत अरुलाई समेत समेट्ने प्रधानमन्त्री झलनाथ खनालको चाहना सहजै पुरा हुने देखिँदैन।