राजकीय सम्मानका साथ भट्टराईको अन्त्येष्टि

  • 6 मार्च 2011
रंगशालामा श्रद्धाञ्जली दिनेहरुको भींड तस्वीर कपीराइट BBC World Service
Image caption आर्यघाट लैजानुअघि भट्टराईलाई श्रद्धाञ्जली चढाउन रंगशालामा हजारौं जम्मा भए

हजारौं मानिसहरुको सहभागितामा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको शवलाई शहर परिक्रमा गराएपछि साँझ आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरियो।

उनका भतीजा प्रमोद भट्टराईले उनलाई दागबत्ती दिएका थिए।

उपचारको क्रममा राजधानीको एउटा अस्पतालमा शुक्रबार राती उनको निधन भएको थियो।

श्रद्धाञ्जली

आईतबार सरकारले राष्ट्रिय शोक घोषणा गर्दै सार्वजनिक बिदा दिएको थियो।

आर्यघाट लैजानु अगाडि दिउँसो उनको शव दशरथ रंगशालामा राखिएको थियो।

जहाँ हजारौं नेता कार्यकर्ता एवं सर्वसाधारण मानिसहरुले उनीप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए।

दशरथ रंगशालाको पश्चिमतिरको प्यारापेट नजिकै राखिएको नेता भट्टराईको पार्थिव शरीरमा अबीर, फूलमाला चढाउन हजारौं मानिसहरु लाम लागेका थिए।

जम्मा भएका कैयौं मानिसहरुका हातमा नेता भट्टराईले स्थापना गरेको पार्टी नेपाली कांग्रेसको झण्डा र उनकै फोटो अंकित प्लेकार्ड थिए।

धेरैले उनको जयजयकार गर्दै नारा लगाएका थिए।

राजकीय सम्मान

प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय झण्डा ओढाएर नेता भट्टराईप्रति सम्मान प्रकट गरे।

सम्मान प्रकट गर्न आएकाहरु मध्ये राष्ट्रपति रामवरण यादव थिए।

उनले नेता भट्टराईको सादा जीवन र निष्ठाको अनुसरण गर्नुपर्ने बताए।

“राजनीतिमा लाग्ने मानिस जनता र राष्ट्रको लागि नैतिकवान भएर लाग्नुपर्छ। उहाँको जीवनबाट यही कुरा सिक्नुपर्छ,” राष्ट्रपतिले भने।

नेता भट्टराईलाई श्रद्धाञ्जली दिन विदेशी कूटनीतिज्ञ, सरकारी अधिकारी, दलका नेताहरु लगायतको लर्को लागेको थियो।

आईतबार सरकारले नेता भट्टराईको निधनमा सार्वजनिक बिदा दिएकाले शहरमा खासै चहलपहल थिएन।

तर त्रिपुरेश्वरस्थित रंगशाला वरपर हजारौं शुभचिन्तकहरुको भीड थियो।

आईतबार बिहान केही बेर नेता भट्टराईको शव नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा राखिएको थियो।

सम्बन्धित समाचार