संविधान नबने विद्रोह गर्ने मधेशी मोर्चाको धम्की

  • 7 मार्च 2011
नेता राजेन्द्र महतो
Image caption संविधान नलेखिए वा संविधानले मधेशको मुद्दा नसमेटे विद्रोह हुने महतोले बताए

तीनवटा तराई केन्द्रित दलहरुको मोर्चाका नेताहरुले समयमा संविधान नबने वा संविधानले तराई मुद्दा नसमेटेमा विद्रोह गर्न धम्की दिएका छन्।

तर सरकारबाट बाहिरिएलगत्तै उनीहरुले तराईमा तत्काल विद्रोह गर्न तयारी गरिरहेका छन् भन्ने समाचारहरुको मोर्चाका नेताहरुले खण्डन गरेका छन्।

समयमा संविधान नबनेचाहिं शान्तिपूर्ण विद्रोह गर्ने नीति मोर्चाले पारित गरेको उनीहरुले बताए।

केही दिन यता विभिन्न समाचारहरुमा मोर्चा सम्बद्ध तराई केन्द्रित दलहरुले विद्रोहको तयारी गरेको खबर आएका थिए।

अड्कल

मोर्चाले हालै सार्वजनिक गरेको आफ्नो प्रस्तावना र आचार संहितामा तराईका मुद्दाहरु सम्बोधन नभए जनविद्रोह हुने लेखिएपछि विभिन्न अड्कलहरु काटिएका थिए।

तर समाचारहरुमा आएजस्तो त्यसको अर्थ तत्काल विद्रोहमा जाने भन्ने नरहेको मोर्चाका नेताहरुले बताएका छन्।

मोर्चाको एक घटक सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भने, “मोर्चाले आफ्नो उद्देश्य प्राप्तिको लागि सरकार, सदन र सडकमा जनसंघर्ष, जनविद्रोह, मधेश विद्रोह गर्नेछ भनेर भनेको हो। त्यसलाई मिडियाले तानेर विद्रोह गर्न लाग्यो भनेर लेखेको हो। आजको दिनमा मधेश विद्रोह गर्ने अवस्था पनि छैन, तयारी पनि छैन।”

मोर्चाको अर्का घटक मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका महासचिव जितेन्द्र देवका अनुसार जनविद्रोहको कुरा मोर्चाले सैद्धान्तिक रुपमा मात्र पारित गरेको हो।

"हाम्रा अधिकारहरु प्राप्त भएनन् र आवश्यक पर्‍यो भने हामी शान्तिपूर्ण तरिकाले जनसंघर्ष र जनआन्दोलनलाई जनविद्रोहको स्तरसम्म रुपान्तरण गर्न सक्छौं भन्ने हाम्रो सैद्धान्तिक प्रस्तावना हो,” देवले भने।

चेतावनी

तर जेठ १४ गतेभित्र संविधान नबने त्यो सिद्धान्त प्रयोगमा आउनसक्ने चेतावनी उनीहरुले दिएका छन्।

“सत्ता र भत्ताको लागि म्याद लम्ब्याउने कुरा स्वीकार्य छैन। संविधान निर्माण नगरेर हामीलाई अल्झाउन खोजिएको छ। यसो हुन सकेन भने नयाँ जनादेश लिएर भएपनि संविधानसभाले संविधान लेख्नुपर्छ। तर यदि संविधान लेखिएन वा लेखिएको संविधानले मधेशको मुद्दा सम्बोधन गरेन भने मधेश विद्रोह हुन्छ,” महतोको भनाई थियो।

उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरम र महेन्द्र यादव नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी नेपाल अलग भएपछि मोर्चामा बाँकी रहेका तीन दलहरुले मोर्चाको साझा प्रस्तावना र सञ्चालन विधि बनाएका हुन्।

एकातिर माओवादीभित्रबाट समयमा संविधान नबने जनविद्रोहको धम्की आउने गरेको बेला तराई केन्द्रित दलहरुलेपनि समयमा संविधान बनेन भने विद्रोह गर्ने धम्की दिन थालेका छन्।