सेना समायोजनको ढाँचा, तालिका बनाउन ढिलाइ

  • 11 मार्च 2011
माओवादीका अयोग्य लडाकूहरु
Image caption माओवादी सेना समायोजनको प्रारुप, तालिकाबारे सहमति जुट्न मुस्किल परेको छ।

माओवादी सेना समायोजन तथा पुन:स्थापनाको ढाँचा तथा कार्यतालिका पाँच दिन भित्र बनाउन प्रमुख तीन दलका नेताहरु सहमत भएको भोलिपल्ट त्यस विषयमा ठोस सहमति जुटाउन प्रमुख दलहरु विफल भएका छन्।

तर एकजना माओवादी नेताको भनाइमा समायोजनको ढाँचा र तालिका बनाउन एउटा कार्यदल बनाउने सहमति भएको छ।

उनका अनुसार शिविरहरुमा थपिने जनशक्ती बारेको विवाद हल गर्ने उपाय पनि निस्किएको छ।

माओवादी सेना समायोजन तथा पुन:स्थापना कार्य अघि बढाउनेबारे बिहीबार प्रमुख तीन दलका नेताहरुबीच जेजस्तो सहमति भएपनि त्यस्लाई कार्यान्वय गर्नेबारे सेना समायोजन विशेष समितिमा उत्पन्न भएको किचलो शुक्रबार टुङ्गन सकेन।

मतभेद

समायोजन तथा पुन:स्थापना कार्य अघि बढाउन शिविरहरुमा खटाइनु पर्ने जनशक्ती बारे हिजो नै विशेष समितिको वैठकमा मतभेद शुरुभएको थियो।

त्यस्को समाधान गर्न बोलाइएको प‍ूर्वनिर्धारित वैठक शुक्रबार बस्न सकेन।

तर प्रधानमन्त्री र प्रचण्डबीच भएको भनिएको वैठकपछि बोल्दै माओवादी नेता एवं शान्ति तथा पुनर्निर्माण मन्त्री वर्षमान पुन अनन्तले दुई नेताबीच सचिवालयले सुझाए अनुसार नै जनशक्ती थप्नेबारे सहमति भएको बताए।

“त्यो जनशक्ती सचिवालयले भने जस्तै गरि प‍ूर्ति गर्ने सहमति भएको छ।”

तर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार कार्दल बनाउने कुनै सहमति भएको छैन।

प्रस्ताव

देशका विभिन्न स्थानमा रहेका अस्थायी शिविरहरुमा रहेका १९ हजार माओवादी सेनाको समायोजन तथा पुन:स्थापना ५० दिन भित्र गर्न सकिने एउटा प्रस्तावको कुरा केही समय अघि देखि नै चलिरहेको थियो।

तर शुक्रबार विशेष समितिको सचिवालयको वैठकले कुनै नयाँ निर्णय गर्न नसकेको सो सचिवालयका एक सदस्य डाक्टर दिपक प्रकाश भट्टले बताए।

“राजनीतिक तहबाट, विशेष समितिबाट सहमति गरे हामीलाई कुनै अप्ठ्यारो छैन।”

राष्ट्रसंघीय नियोग अन्मिनको विदाई पछि नै शिविरहरुको अनुगमनमा नेपाली टोली खटिसकेको छ।

सत्ता संघर्षमा महिनौं विताएका प्रमुख दलहरुले माओवादी सेना समायोजन र पुन:स्थापना कार्य आगामी जेठमा संविधान निर्माण गरिसक्नु अघि नै गर्ने भने पनि त्यस्लाई मूर्तरुप दिन उनीहरुलाई निकै मुस्कील पर्ने देखिएको छ।