दुई महिनाभित्रै सेना समायोजन गर्न सकिन्छ: प्रचण्ड

  • 12 मार्च 2011
माओवादी अध्यक्ष प्रचण्ड
Image caption नयाँ सरकार बनेपछि प्रचण्डले सेना समायोजन चाँडै हुने बताएका छन्

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाको मुख्य अंग मानिएको माओवादी लडाकुको समायोजनको काम सकिन दुई महिना पनि नलाग्ने विश्वास व्यक्त गरेका छन्।

“प्रक्रिया र मापदण्डबारे दलहरुबीच सहमति भए सेना समायोजनको लागि दुई महिनापनि लाग्दैन,” उनले भने।

आधार

माओवादीको समर्थनमा प्रधानमन्त्री बनेका एमालेका झलनाथ खनाल अध्यक्ष रहेको सेना समायोजन विशेष समितिले आफ्‍नो काम थालनी गरिसकेकोले त्यस्तो विश्वासको आधार बनेको उनको भनाई छ।

पश्चिम नेपालको धनगढीमा पत्रकारहरुसंगको कुराकानीमा प्रचण्डले शनिबार त्यसो भनेका हुन्।

उनी एउटा स्थानीय महोत्सवको उद्‍घाटन गर्न धनगढी पुगेका थिए।

विगतको तुलनामा विमानस्थलमा सुरक्षा व्यवस्था कडा गरिएको थियो भने कार्यकर्ताले भरिएको विमान स्थलको विशेष कक्षमा पत्रकारहरुसंग उनले चार मिनेट मात्र कुरा गरेका थिए।

केही दिन अगाडि मुख्य दलहरुबीच पचासदिनको कार्यतालिका सहित समायोजनको प्रक्रिया अगाडि ल्याउने सहमति भएको बताइएको थियो।

“पाँचदिन भित्र कार्यतालिका र प्रक्रियाको बारे सुझाव ल्याउन समिति गठन गर्ने सहमति भएको छ,” प्रचण्डको भनाई थियो।

तर विश्लेषकहरु भन्छन् चारतिर फर्किएका दलहरुका बीच सेना समायोजनको तरीका र प्रक्रियाबारे सहमति जुटाउन अझै त्यति सहज छैन।