कार्यतालिका ल्याउन विशेष समिति विफल

  • 15 मार्च 2011
झलनाथ खनाल तस्वीर कपीराइट BBC World Service
Image caption पाँच दिन भित्र समायोजन तालिका बनाउने खनालको योजना विफल भएको छ

माओवादी लडाकूको समायोजन तथा पुनर्स्थापना गर्ने कार्यतालिका तोकिएको समयभित्र बनाउन सेना समायोजन विशेष समिति विफल भएको छ।

गत बिहीवार एकिकृत नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुको बैठकले समितिलाई पाँच दिने म्याद दिएको थियो।

त्यसै साँझ कुनै निर्णय लिन नसकेपछि विशेष समितिको बैठक नै हुन सकेको छैन।

दोष

नेपाली कांग्रेसले त्यसको दोष प्रधानमन्त्री झलनाथ खनाल र माओवादीमाथि लगाएको छ।

उक्त दलबाट समिति सदस्य रहेका डा. रामशरण महतले भने, " कार्यतालिका त के, अस्थाई शिविरमा थप जनशक्ति पठाउन शीर्ष नेताहरुले गरेको सहमति नै विशेष समितिका माओवादी प्रतिनिधिहरुले नमानेपछि कुरा अड्किएको छ।"

उनले त्यसलाई माओवादीको खराव नियतको संज्ञा दिए।

महत भन्छन्, "महिनामा १७-१८ करोड रुपियाँ जाने अस्थाई शिविरलाई विशेष समितिको नियन्त्रणमा आउन नदिने माओवादीको बदनियतका कारण त्यसो भएको हो।"

शीर्ष बैठकको सहमति विशेष समितिमा माओवादीका प्रतिनिधिले नमानेको खबर आएपछि प्रचण्ड र प्रधानमन्त्रीबीच फेरी वार्ता भयो।

सम्भावना

उक्त छलफलमा पनि प्रचण्ड जनशक्ति पठाउन तयार रहेको बताइएको थियो।

तर महतको आशंका छ, "सहमति भएको भए प्रधानमन्त्रीले किन विशेष समितिको बैठक बोलाउने आँट गर्नु भएको छैन?"

लडाकू समायोजनको सम्भावना थप विग्रिदै गएको उनको भनाई थियो।

महतले भने, "समायोजनमा माओवादीको ध्यान नै छैन। म त समायोजन हुने सम्भावना देख्दिन। प्रधानमन्त्री र माओवादीले झुठो मात्र बोलिरहनु भएको छ।"

आफै सम्मिलित शीर्ष बैठकको सहमति कार्यान्वयन हुन नसक्नुको कारणबारे प्रधानमन्त्रीले केही बताएका छैनन्।

एमालेबाट प्रतिनिधित्व गर्ने महासचिव इश्वर पोखरेल पनि बोल्न चाहेनन्।

समितिमा रहेका माओवादीका सदस्यहरु सम्पर्कमा आएनन्।