भारतीय परमाणु भट्टिका सुरक्षाबारे नेपालमा चिन्ता

  • 19 मार्च 2011
फुकुशीमा परमाणु भट्टि तस्वीर कपीराइट AP
Image caption जापानको फुकुशीमा भट्टिको घटनाले संसारभर परमाणु केन्द्रका सुरक्षा चिन्ता बढेको छ

जापानमा भएको परमाणु दुर्घटनापछि विशेषगरी भूकम्पको उच्च जोखिममा रहेको भनिएको क्षेत्रमा रहेका र प्रस्तावित भारतीय परमाणु भट्टिका सुरक्षाबारेको चिन्ता नेपालमा गर्न थालिएको छ।

धेरै मानिसहरुको चिन्ता विशेषगरी के रहेको छ भने जापानजस्तो प्राविधिक रुपले अग्रणी मानिएको देशमा त त्यस्तो दुर्घटना रोक्न सकिएन भने अन्यत्रको हालत के होला?

छिमेकी भारतका मानिसहरुमा पलाएको यही जिज्ञासाका कारण होला त्यहाँका प्रधानमन्त्री सिंहले केही दिन अगाडि संसदमा बोल्दै देशभरका परमाणु भट्टिहरुको सुरक्षा स्थितिको पुनरावलोकन गरिने बताए।

नेपालीहरुको चिन्ता चाहीं सात समुद्र पारिको देशमा हुने परमाणु दुर्घटनाबाट त विकिरणको खतरा हुने सम्भावना रहेको बेला छेउछाउमै त्यस्तो भए के होला भन्ने छ।

छरछिमेकको चिन्ता

प्राकृतिक प्रकोपका कारण जापानको परमाणु भट्टिमा उत्पन्न डरलाग्दो समस्याले संसारभर मच्चाइरहेको सनसनीले नेपालका छिमेकीहरुलाईपनि गाँजेको छ।

चीनले नयाँ परमाणु भट्टिको स्वीकृति दिने कार्य स्थगित गरेको छ।

दुई वर्ष पहिले विश्व समुदायसंग एउटा सम‍्झौता गरेर उर्जाको लागि परमाणु भट्टिहरुको विस्तार गर्न उत्साहित अर्को छिमेकि देश भारतमा यो घटनापछि प्रधानमन्त्री मनमोहन सिंहले सबै भट्टिहरुको प्राविधिक गुणस्तरमा पुनरावलोकन गर्न आदेश दिएका छन्।

ती मध्ये केही नेपाल नजिकैका राज्यहरुमा पर्छन्।

ती भट्टिहरुको सुरक्षालाई लिएर नेपालमा चिन्ता गर्न थालिएको छ।

भारतमा हाल सञ्चालनमा रहेका भट्टिहरुमध्ये नेपालको सीमानामा जोडिएको उत्तर प्रदेशको बुलन्दशहर भन्ने ठाउँमा रहेको नरोरा केन्द्रको दुई भट्टि त भुईंचालोको जोखिमको हिसाबले उच्चै मानिएको क्षेत्रमा छ।

हुन त सो भट्टिको संरचनाले यस क्षेत्रमा आउन सक्ने स्तरका भुईंचालो धान्न सकिने भनिएपनि सुरक्षा चिन्ता ज्यूँ का त्यूँ रहेको एकजना भूकम्पविद आमोद दिक्षितले बताए।

“यो डरलाग्दो कुरा हो। हरेक ठूलो भूईंचालोपछि भारतले कम्पन जोखिम क्षेत्रको स्तर बढाउने गरेको छ। अर्थात त्यसमा त्यति धेरै भर पर्न हुँदैन। केही गरी कल्पना गरिएको भन्दा ठूलो भुईंचालो आयो भने के गर्ने? त्यसकारण सुरक्षा त अलि बढि नै चाहिन्छ,” दिक्षितले भने।

छलफल आवश्यक

चार सय भन्दा बढि मेगावाट शक्तिको उक्त नरोरा भट्टि बाहेक भारतले आउने केही वर्षभित्र बिहार र पश्चिम बंगालजस्ता नेपाल छेउछाउका राज्यहरुमा अझ ठूल्ठूला परमाणु भट्टिहरु बनाउने योजना गरेको छ।

जस अन्तर्गत बिहारको रजौली र पश्चिम बंगाल हरिपुर मा गरी हजारौं मेगावाटका हुने बताइएका छन्।

भूकम्पविद दिक्षितका अनुसार भारत तथा अन्य छिमेकी देशहरुसंग कमसेकम वैज्ञानिकहरुको तहमा प्राकृतिक प्रकोपबाट हुनसक्ने खतराबाट जोगिने उपायबारे छलफल चलाउन ढिलो हुन लागिसक्यो।

“कमसेकम छरछिमेक र प्रभाव पर्न सक्ने मुलुकहरु जस्तै भारत, पाकिस्तान, नेपाल, बंगलादेशबीच कुनै किसिमको संगठित छलफल हुनुपर्छ। नेपालकै विज्ञान मन्त्रालय वा सरकारले यसबारे केही न केही गर्नुपर्छ,” उनले बताए।

त्यसो त नेपालका सीमावर्ती राज्यहरुभन्दा पर रहने गरी भारतले थुप्रै त्यस्ता भट्टिहरुको योजना बनाएको छ।

ती मध्ये एक हो महाराष्ट्रमा प्रस्तावित जाइतापुर।

जापानको घटनापछि परमाणु उर्जाप्रति असन्तुष्ट समूहले जाइतापुरको विरोध थप चर्काएका छन्।

भारतभित्र र संसारभरीनै केही दिन यता जीवन्त बनेको परमाणु उर्जा केन्द्रहरुका सुरक्षाबारेका नयाँ बहसहरु नेपालीहरुको निम्ति पनि निकै चासोका विषय बनेका छन्।