माओवादी सेना समायोजन कार्यतालिका बनाउने कार्य अवरुद्ध

  • 21 मार्च 2011
पूर्व माओवादी लडाकू
Image caption माओवादी पूर्व लडाकूहरुको समायोजन तथा पुन:स्थापनाबारेको विवाद कायमै छ

माओवादी पूर्वलडाकू राखिएका अस्थायी शिविरहरुमा सरकारी कर्मचारी थप्ने विषयमा प्रमुख दलहरुबीच उत्पन्न विवादको कारण माओवादी सेना समायोजन तथा पुन:स्थापनाको कार्यतालिका बनाउने काम अवरुद्ध भएको छ।

दश दिनअघि प्रमुख तीन दलका नेताहरुले पाँच दिन भित्र समायोजनाको खाका तथा कार्यतालिका बनाउने सहमति गरेका थिए।

तर शिविरहरुमा खासगरी कर्मचारी थप्नेबारेको विवादकाबीच सेना समायोजन विशेष समितिको बैठक नै बस्न सकेको छैन।

माओवादी सेना समायोजन तथा पुन:स्थापनाको प्रारुप र कार्यतालिका बनाएर सो काम सिध्याउने तर्फ लाग्न प्रमुख तीन दलहरु सहमत भएको १० दिन बितिसक्दा पनि त्यस दिशामा कुनै प्रगति भएको छैन।

नयाँ शर्त

विशेष समितिमा रहेका नेकपा एमालेका महासचिव ईश्वर पोखरेलका अनुसार विवादहरु हल गर्न माओवादी अध्यक्ष प्रचण्ड पछिल्लो बैठकमा सकारात्मक भएपनि, पछि माओवादीले नयाँ शर्त थपेका कारण कामकुरा अगाडि नबढेको हो।

“माओवादी साथीहरु अनावश्यक कुरामा अर्घेल्याईं गरिरहनु भएको छ, राज्यकोषबाट तलब खाइरहेका लडाकूहरुको अनुगमन गर्न कर्मचारी पठाउन मानिरहनु भएको छैन। त्यसको अन्त्य नभएसम्म सहमति हुनै सक्दैन।”

सेना समायोजन विशेष समितिमा रहेका प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरु सोमबार राजधानी बाहिर थिए।

माओवादीका तर्फबाट विशेष समितिमा रहेका माओवादीका एकजना नेता जनार्दन शर्मा प्रभाकरले आफुहरुले सेना समायोजनबारे विस्तृत सहमति चाहेको बताए।

“हामीहरुले सबै विषयमा सहमति गरेर मात्रै कर्मचारी पठा‌औं मात्र भनेका हौं।”

चुनौतीहरु

दश दिन अघि समायोजन तथा पुन:स्थापनाको प्रारुप र कार्यतालिका बनाउन एउटा कार्यदल नै लागिपर्ने बताइएको थियो।

अब त्यसबारे बुधबार बस्ने भनिएको बैठकमा छलफल हुने बताइएको छ।

संविधानसभाको थपिएको म्याद सकिन अब दुई महिना भन्दा केही बढी बाँकी छ।

त्यतिबेला सम्म प्रमुख दलहरुले भने झैं यदि माओवादी सेना समायोजन र संविधान निर्माण कार्य सम्पन्न भयो भने त्यो धेरैका लागि आश्चर्य हुनेछ।