अर्थसचिव प्रकरणलाई लिएर कांग्रेसद्वारा सदन अवरुद्ध

  • 30 मार्च 2011
अर्थ सचिव तस्वीर कपीराइट .
Image caption खनाल कार्यालयबाट निस्किएपछि अर्थ मन्त्री अप्ठ्यारोमा परेका छन्

अर्थ सचिव रामेश्वर खनालले मंगलबार अप्रत्यासित रुपमा राजिनामा दिएको भनिएको घटनालाई लिएर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकार तथा अर्थ मन्त्रीको कडा आलोचना गर्दै व्यवस्थापिका संसदको कारवाही अवरुद्ध पारेको छ।

तर अर्थ मन्त्री भरत मोहन अधिकारीले भने सचिव खनालसंग आफ्नो असमझदारी भएको हुन सक्छ भन्दै उनलाई काममा फर्कन आग्रह गरेका छन्।

बुधबार व्यवस्थापिका संसदको वैठक शुरु हुने वितिक्कै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक लक्ष्मण घिमिरेले अर्थ सचिव रामेश्वर खनालमाथि राजनीतिक दबाब दिइएको भन्दै अर्थ मन्त्रीको तिब्र आलोचना गरेका थिए।

खनालले राजिनामा दिएको भन्ने प्रसंङ्ग लगायतका घटनाबारे प्रधानमन्त्रीले संसदमा जवाफ नदिएसम्म सदन चल्न नदिने कांग्रेसको अडानका कारण संसदको बुधबारको वैठक कार्यसूचिमा प्रवेश नै नगरि टुङ्गियो।

‘शंका’

कांग्रेसका प्रमुख सचेतक घिमिरेले खनाल प्रकरणमा अर्थ मन्त्री स्वयं नै शंकाको घेरामा रहेको टिप्पणी गरे।

“इमान्दार र सक्षम अर्थ सचिवमाथि दबाब दिने भरतमोहन अधिकारीजी आफैं शंकाको घेरामा आइरहनु भएको अवस्था छ।”

अर्थ मन्त्रालयका सल्लाहकार केशव आचार्यका अनुसार अर्थ मन्त्री भरतमोहन अधिकारीले भने सचिव खनाललाई काममा फर्कन आग्रह गरेका छन्।

“मन्त्रीज्यूले उहाँलाई हामीबीच असमझदारी भएको हुनसक्छ, संगै मिलेर काम गर्न आव्हान गर्नु भएको छ।‍”

अडान

अर्थ सचिव खनालले नक्कली भ्याट बिल देखाउने ठूला व्यापरीहरुलाई कार्वाही गर्ने, पुरक बजेट ल्याउन नहुने र अर्थ मन्त्रालयका कर्मचारी सरुवाहरुको विरुद्धमा अडान लिएको उच्चसुत्रहरुको भनाई छ।

उनी आफ्नो गृहजिल्ला पाल्पा पुगेको समाचारहरु आएपनि त्यस्को पुष्टी हुन सकेको छैन।

बुधबारै संसदको सार्वजनिक लेखा समितिले अर्थ सचिव खनाललाई राजनीतिक दबाब दिएको आरोपबारे बोल्न अर्थ मन्त्री अधिकारी लगायतका वरिष्ठ अधिकारीहरुलाई समितिको भोलीको वैठकमा बयान दिन बोलाएको छ।

अर्थ सचिवमाथि राजनीतिक दबाब दिएको भन्दै निजामति कर्मचारीहरुको छाता संगठनले समेत विरोध गरेको छ।