चर्को विवादमा परेका अर्थमन्त्रीद्वारा सबै आरोपको खण्डन

  • 31 मार्च 2011
अर्थ मन्त्रीको प्रेस सम्मेलन तस्वीर कपीराइट BBC World Service
Image caption मन्त्री अधिकारीले आफुले कुनै गल्ती नगरेको बताए

आफैंले दिएका भनिएका अनुचित दबाबका कारण अर्थसचिव रामेश्वर खनालले मन्त्रालय छाडेर हिंडेपछि तीव्र विवादमा परेका उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीले सबै आरोपहरुको खण्डन गरेका छन्।

दुई साताको बिदा र त्यसपछि लागु हुने गरी राजीनामा दिएर सचिव खनाल हिंडेपछि आलोचित मन्त्री अधिकारीले सचिव खनाललाई फर्किएर आउन र मिलेर काम गर्न अपील गरे।

सचिव खनालले अघि बढाएको भनिएको अर्बौं रुपियाँको नक्कली भ्याट बील काण्डलाई आफुले मत्थर हुन नदिने उनले बताए।

खण्डन

कर्मचारी सरुवा देखि लिएर क्यासिनो बक्यौता तथा खासगरी नक्कली भ्याट बील प्रकरणमा केही व्यावसायिक घरानाको इशारामा सचिवमाथि अनुचित दबाब दिएको आरोप लागेका मन्त्री अधिकारीले आज ती सबैको खण्डन गर्ने प्रयासमा मन्त्रालयमा पत्रकार सम्मेलन डाकेका थिए।

उनले आफ्ना वरिष्ठ विभागीय प्रमुखहरु समेतलाई उपस्थित गराएर आफुले नक्कली भ्याट बील प्रकरणमा मुछिएकाहरुलाई उम्किन दिन कुनै दबाब नदिएको बरु अघि बढ्न भनेको जवाफ दिए।

“राजस्व मार्नेहरुलाई म छाड्दिन। नक्कली बीलको कारबाहीमा सरकारको हात अगाडि बढ्दैछ। कोही छुट्ने वाला छैनन्,” अधिकारीले भने।

उनको हो मा हो मिलाएका थिए विभागीय प्रमुखहरुले।

तीखा टिप्पणी

तर लगत्तै उनलाई पत्रकारहरुले तीखा प्रश्न तेर्स्याए।

कतिपयले मन्त्रीको उपस्थितिमा विभागीय प्रमुखहरुले खुलस्त कुरा गर्न नसक्ने भन्दै नक्कली बीलमा मुछिएकाहरुलाई जरीवाना मिनाहा गर्ने भनिएको तयारीप्रति प्रश्न उठाए भने कतिपयले चाहीं चौधरी ग्रुप लगायतका ठूला घरानियाँले अर्थमन्त्रीलाई दबाब दिएको बारे सवाल गरे।

ती प्रश्नहरुको स्पष्ट जवाफ उनीबाट आएन।

उनका लागि ती भन्दा पनि तीखा थिए विभिन्न पत्रपत्रिका तथा अनलाईन समाचारहरुमा पाठकहरुले पठाएका प्रतिक्रिया तथा ब्लगहरुमा गरिएका टिप्पणी जसमा सबै जसोले मन्त्री अधिकारी र सरकारको उछित्तो काढेका छन्।

अनपेक्षित विवादका कारण होला पत्रकार सम्मेलनमा निकै थकित मुद्रामा देखिएका अर्थमन्त्रीले नयाँ बजेट बनाउन समेत ढिला भइसकेको भन्दै सचिव खनाललाई फर्किन अपील गरे।

“आउनुस् फर्किएर, मिलेर काम गरौं। अर्थतन्त्रमा निकै चुनौतिहरु छन्। २०६८/६९ को बजेट बनाउने बेला भइसक्यो,” उनले बताए।

विहिबार बिहान सोही विषयमा जवाफ दिन संसदको सार्वजनिक लेखा समितिले बोलाएको बैठकमा भने मन्त्री गएनन्।

मंगलबार अचानक मुख्य सचिवलाई दुईवटा निवेदन बुझाएर पन्ध्र दिने घरविदा र चैत मसान्तदेखि लागु हुने गरी राजीनामा दिएर सचिव खनाल राजधानीबाटै बाहिरिएपछि झलनाथ खनाल नेतृत्वको सरकारका लागि अप्ठेरो संकट भित्रिएको छ।