माओवादीभित्र मजदूर विवाद कायमै

  • 5 एप्रिल 2011
माओवादी नेता नारायणकाजी श्रेष्ठ प्रकाश
Image caption नेता प्रकाशले मजदूर विवाद अब केही दिनमा सुल्झिने बताए

केही दिन अगाडि सिन्धुपाल्चोकको सुकुटेमा बसेको बैठकपछि पार्टिभित्र अब कुनै विवाद बाँकि नरहेको बताएका माओवादी नेताहरु त्यसको लगत्तै मंगलबार राजधानीमा बसेको बैठकबाट मजदूर विवाद सुल्झाउन विफल भए।

मंगलबारको पार्टि पदाधिकारीहरुको बैठकमा मजदूर विवाद नसल्टिएपछि पार्टिबाट सरकारमा जाने थप सात मन्त्रीहरुको टुंगो समेत लाग्न सकेन।

अल्झियो

सुकुटे बैठकमा नेताहरुले दिएका अभिव्यक्तिका कारण मंगलबार दिउँसो बसेको पदाधिकारीको बैठकले सहजै मजदूर विवाद सुल्झाउनका साथै मन्त्रीहरुको टुंगो लगाउने धेरैले ठानेका थिए।

तर ती दुवै काम हुन सकेनन्।

पार्टि अध्यक्ष प्रचण्ड तथा उपाध्यक्षहरु मोहन वैद्य किरण र बाबुराम भट्टराईका पक्षमा तीन फ्याक परेका मजदूर यूनियनका नेताहरुले आ आफ्ना भनाई राख्नेबाहेक आज केही हुन नसकेको पार्टि नेताहरुले बताए।

“विवाद हुनुभन्दा अगाडिकै केन्द्रिय समितिलाई मान्यता दिएर राष्ट्रिय सम्मेलनको लागि उसैलाई आयोजक समितिको जिम्मा हामीले दिइसकेका छौं। त्यसलाई कार्यान्वयन गर्ने सन्दर्भमा विवादमा परेका साथीहरुले आज आ आफ्ना धारणाहरु राखे,” उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले भने।

माओवादीभित्रको किचलोका कारण हालै माओवादीको आधिकारीक यूनियन सहित ठूला मजदूर यूनियनहरु र नेपाल उद्योग वाणिज्य महासंघबीच अबको चार वर्षसम्म बन्द हडताल नगर्ने भनेर गरिएको सहमति अलपत्र परेको छ।

माओवादी निकट यूनियनकै कारण आज साँझसम्म पोखराको फिस्टेल होटलमा विवाद कायमै थियो भने अन्य दुई गुटले त उक्त सहमति अमान्य भएको बताइसकेका छन्।

पार्टि मुख्यालयमा मंगलबार बसेको बैठक मन्त्रीमण्डलमा पठाउन बाँकि सातजना पार्टि प्रतिनिधिहरु छान्ने विषयमा प्रवेश गर्नै सकेन।

तर उपाध्यक्ष प्रकाशका अनुसार माओवादी पार्टिभित्र मन्त्री चयनका विषयमा कुनै विवाद छैन।

मन्त्रिमण्डल विस्तारमा भएको ढिलाईको मुख्य दोष उनले प्रधानमन्त्रीलाई दिए।