माओवादीलाई गृह मन्त्रालय अहिले नै दिइन्न: प्रधानमन्त्री

  • 17 एप्रिल 2011
प्रधानमन्त्री झलनाथ खनाल तस्वीर कपीराइट .
Image caption गृह मन्त्रालय माओवादीलाई नदिन प्रधानमन्त्रीमाथि पार्टीभित्रकै चर्को दवाव छ

प्रधानमन्त्री झलनाथ खनालले तत्काल माओवादीलाई गृह मन्त्रालय नदिने बताएका छन्।

उनले गृह मन्त्रालयका लागि केही दिन पर्खिन माओवादीलाई आग्रह गरेका छन्।

गुल्मीमा आयोजित एउटा कार्यक्रममा उनले भने, "गृहमन्त्री अहिले प्रधानमन्त्री छँदैछ नि। तर कार्यविभाजन गर्दा अरुलाई दिनु पर्छ भने पख्नुस केही दिन पछाडि हुन्छ।"

विश्वस्त

माओवादी लडाकूको समायोजन नहुँदासम्म सुरक्षा मामिलासँग जोडिएका मन्त्रालय माओवादीलाई नदिन प्रधानमन्त्री खनालले आफ्नै दलभित्रबाट चर्को दवाव खेपिरेका छन्।

माओवादीले प्रधानमन्त्रीको पछिल्लो भनाईलाई आफ्नो दलभित्रको त्यस्तो दवावलाई सन्तुलन गर्ने प्रयासको रुपमा हेरेको छ।

प्रधानमन्त्रीप्रति विश्वस्त देखिएका माओवादी सचिव सीपी गजुरेलले भने, "प्रधानमन्त्रीले गृहमन्त्रालय सहितको टुंगो लगाए सपथ खुवाउन कुनै अप्ठेरो छैन भन्नु भएको छ, उहाँ त्यसबाट पछि हट्नु भएको छैन।"

संविधानसभा भंग हुने आशंका बढिरहेका बेला उनले भने, "संविधान नलेखी संविधानसभा विघटन हुन्न र विघटन गर्न दिन पनि हुन्न।"

संविधान संविधानसभाबाट बन्छ भन्ने विश्वासका साथ अगाडि बढ्नु पर्नेमा उनको जोड थियो।

त्याग

गृह मन्त्रालय माओवादीलाई दिए प्रधानमन्त्री र पार्टी अध्यक्षबाट समेत खनाललाई हटाइने चेतावनी आफ्नै दल एमालेका वरिष्ठ नेताहरुले दिएका बेला प्रधानमन्त्री खनालले शान्ति र संविधान निर्माणका काम पुरा गर्न नसके पद त्याग गर्ने पनि बताए।

उनले भने, "यो प्रधानमन्त्री त्याग गर्न तयार छ, तर हामी शान्ति र संविधानको लक्ष्यसँग सम्झौता गर्न तयार छैनौं।"

यद्यपि उनले संविधान कहिले सम्म बन्छ र नबने कहिलेसम्म पद त्याग गर्ने बारे खुलाएनन्।