संविधानसभाको आयु अन्यौलमै

  • 23 एप्रिल 2011
संविधानसभा भवन
Image caption संविधानसभाको म्याद नथप्दा संवैधानिक संकट आउन डर दलहरुमा देखिन्छ

सत्तापक्ष एकिकृत नेकपा माओवादी र नेकपा एमालेका साथै प्रमुख प्रतिपक्षि नेपाली कांग्रेसको अस्पष्टताले सकिनै आँटेको संविधानसभाको आयु अन्यौलै छ।

सत्ताधारी पार्टीका नेताहरुले बाँकी बचेको समयमा संविधान र शान्तिको टुंगो लगाउने आश्वासन दिन छाडेका छन्।

तर संविधानसभाको म्याद थपबारे ती दलहरुले आधिकारीक रुपमा मुख खोलेका छैनन्।

सत्तासाझेदार माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले भने, "शान्ति र जनताको संविधान बनाउने हो भने हामीले के गर्नु पर्छ त्यो निर्णय लिन तयार छौं। त्यसबारे पार्टीमा छलफल चलिरहेको छ।"

डर

म्याद नथप्दा देश संवैधानिक सून्यतामा पुग्ने र आफूहरुले जुटाएको उपलब्धी गुम्ने, अनि आपसी मतभिन्नता बाँकी राखेरै म्याद बढाउन खोज्दा जनताको असन्तुष्टीको शिकार हुने डर पनि दलहरुमा देखिन्छ।

त्यसैले एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवाली कुनै आधार तयार नगरी म्याद थप्ने निर्णयमा पुग्न सहज देखिरहेका छैनन्।

उनी भन्छन्, "संविधानको मस्यौदा तयार गर्ने र शान्ति प्रकृयाबाट उल्टिन नसक्ने विन्दूमा पुग्ने गरी प्रगति गर्न सके २-४ महिना थप्ने आधार तयार होला, नत्र सजिलो छैन।"

सत्ताधारी नै त्यसबारे कुनै निर्णयमा नपुगिसकेको अवस्थामा प्रमुख प्रतिपक्षिलाई त झन किन हतारो हुन्थ्यो?

हेर्ने

माओवादीलाई आफ्नै बैठकबाट र एमालेलाई सरकार भरथेग गर्नैमा फुर्सद नभएकाले संविधान र शान्ति प्रकृया वेवारिसे झैं बनेको कांग्रेसको आरोप छ।

उक्त दलका उपसभापति रामचन्द्र पौडेल भन्छन्, "हामीले परिस्थितिको विकास र जनताको भवना एवं चाहना हेरेर देश भताभुंग हुन नदिने ढंगले एउटा निर्णय लिन्छौं।"

संविधानसभाको म्याद थप्न खाँचो पर्ने दुई तिहाई बहुमत सत्ता गठबन्धनको पक्षमा छैन।

त्यसैले अन्य दलको साथ उसले पाउने वा कुरा धेरै हदसम्म माओवादीको जारी केन्द्रिय समिति बैठकको निर्णयमा भर पर्ने ठानिएको छ।

किनकि माओवादी पछि हट्ने वित्तिकै अरु सबैले चाँहदैमा म्याद थप्न सम्भव हुने छैन।