सरकारले बजेट अधिवेशन डाक्यो

  • 25 एप्रिल 2011
अर्थ मन्त्रालय
Image caption शीघ्र बजेटको तयारीमा मन्त्रालय र राष्ट्रिय योजना आयोग जुटिसकेको छ

वैशाख १९ गतेदेखि शुरु हुने गरी सरकारले डाकेको बजेट अधिवेशन समेत भनिने बर्खे अधिवेशनमा सरकारले आगामी साउनदेखि लागू हुने बजेट पेश गर्नेछ।

सोमबार बिहान राष्ट्रपति रामवरण यादवसंगको भेटमा प्रधानमन्त्री झलनाथ खनालले बर्खे अधिवेशन डाक्ने बारे कुराकानी गरेका थिए।

लगत्तै त्यसको निर्णय भएको थियो।

“वैशाख १९ गतेको लागि अधिवेशन आव्हान भएको छ,” संसद सचिवालयका सचिव ठाकुर बरालले भने।

लामो प्रक्रिया

बजेट अधिवेशन भनेर समेत चिनिने बर्खे अधिवेशन प्रायजसो असारको हाराहारीमा डाक्ने चलन थियो।

यसपाली शीघ्र बजेट ल्याउने सरकारको चाहनाका कारण बर्खे अधिवेशन चाँडै डाकिन लागेको हो।

तर अधिवेशन डाक्ने वित्तिकै बजेट ल्याइहाल्न भने सकिने छैन।

त्यसको लागि लामो प्रक्रिया रहेको अधिकारीहरु बताउँछन्। जस अनुसार १५ दिन पूर्व बजेट छलफल हुनुपर्ने तथा राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने हुन्छ।

त्यसमाथि रातो किताब, पहेंलो किताब, आर्थिक सर्वेक्षण तथा अन्य आर्थिक दस्तावेजहरु तयार पारिसक्नुपर्ने अधिकारीहरुको भनाई छ।

त्यसो हुँदा बजेट ल्याउन थप केही समय लाग्ने अर्थ मन्त्रालयका प्रमुख सल्लाहकार केशव आचार्यले बताए।

“सरकारको तयारी जेठको पहिलो साता वा दोस्रो साताको शुरुमा बजेट ल्याउने छ,” आचार्यले भने।

प्राविधिक तयारीमा भने मन्त्रालय पूर्ण रुपले जुटिसकेको उनको भनाई थियो।

“अर्थ मन्त्रालय तथा राष्ट्रिय योजना आयोग पूर्ण रुपले लागिपरेका छन्। मन्त्रालय र आयोगले अन्य मन्त्रालयहरुसंग छलफल गरिरहेका छन्,” आचार्यले बताए।

पोहोर परार राजनीतिक दलहरुबीच विविध झगडाका कारण समयमा आउन नसकेकव बजेट यसपाली केही अगाडि ल्याइन लागेको हो।

तर यसपालीपनि जेठ १४ गते नयाँ संविधान लेख्ने चटारो पर्ने बेला बजेट आउने हुनाले बजेटमाथिको बहस फेरि ओझेलमा पर्न सक्ने ठानिएको छ।