अमेरिकी फौजको कारवाहीमा बीन लादेनको मृत्यु

  • 2 मे 2011
न्यूयोर्क शहरमा अमेरिकीहरु तस्वीर कपीराइट BBC World Service
Image caption बीन लादेन मारिएको खबरपछि अमेरिकीहरुले ठाउँ ठाउँमा भेला भई खुशी प्रकट गरे

अल कायदा समूहका नेता ओसामा बीन लादेनलाई अमेरिकी विशेष सैनिकहरुले मारिदिएको समाचारको पुष्टि अमेरिकी राष्ट्रपति बाराक ओबामाले गरेका छन्।

उनका अनुसार अमेरिकी गुप्तचर निकाय सीआइएले बीन लादेनलाई अबोटाबाद नामक शहरको एउटा सुरक्षित इलाका रहेको घरमा बसिरहेको पत्ता लगाएको थिए।

त्यहाँ गरिएको हमलामा बीन लादेनका एउटा छोरा सहित कम्तीमा अन्य तीनको ज्यान गएको थियो।

आश्चर्य

अन्तत ओसामा बीन लादेनलाई भेटिएको ठाउँ कुनै गुफा थिएन।

न त त्यो पाकिस्तानको जनजाति बाहुल्य भएको इलाका नै थियो।

बरु उनी भेटिएको शहर त उही थियो जहाँ पाकिस्तानी सैनिकको एउटा मुख्य प्रतिष्ठान रहेको छ।

राष्ट्रपति ओबामाले विशेष अमेरिकी सैनिकको टुकडीलाई रात्रीकालीन हमलाको आदेश दिनु पूर्व अमेरिकीहरुले उक्त ठाउँलाई गएको चार वर्षदेखि निगरानी गरेका थिए।

राष्ट्रपति निवास व्हाइट हाउसमा हतारमा आयोजित एउटा सम्बोधनमा राष्ट्रपति ओबामाले बीन लादेन मारिएको पुष्टि गरे।

“आजको रात म अमेरिकी जनता तथा विश्व सामु के भन्न सक्छु भने अमेरिकाले गरेको एउटा कारवाहीमा अल कायदाका नेता, आतंककारी, ओसामा बीन लादेन मारिएका छन्, जो हजारौं निर्दोष मानिस तथा बालबच्चाको मृत्यकोलागि जिम्मेदार थिए,” ओबामाले भने।

वाशिंगटनस्थित सूत्रहरुका अनुसार बीन लादेनको शवलाई समुद्रमा गाडिसकिएको छ।

उत्सव

ओबामाले खबर पुष्टि गरे लगत्तै राष्ट्रपति निवास अगाडि भींड जम्मा हुन थालेको थियो।

हजारौं मानिसहरु जसमध्ये कैयौंले अमेरिकि झण्डा बोकेका थिए, उनीहरुले व्हाइट हाउस अगाडि उत्सव मनाए।

स्थानिय समय अनुसार मध्यरात पछि त बीन लादेनले गराएको सेप्टेम्बर ११ को घटनामा ट्वीन टावर ध्वस्त भएको स्थल, न्यूयोर्क शहरको ग्राउण्ड जीरोमा हजारौं मानिसहरु भेला भए।

अनि संगैको टाइम्स स्क्वायरमा पनि मानिसहरु नारा लगाइरहेका थिए।

“हामी अमेरिकीहरुले धेरैको ज्यान गुमायौं। यो यस्तो समय हो जब हामी सबै अमेरिकीहरु एकै ठाउँमा आउन सक्छौं र हामीले एउटा लक्ष्य पूरा गरेको अनुभव गर्न सक्छौं,” एकजना अमेरिकीले भने।

तर उत्सवझैं लाग्ने यी वातावरणका बीच धेरैले गम्भीर कुराहरु गरेका छन्।

अल कायदाले कुनै बदला लेला कि भन्ने पनि डर छ।

किनकि ओसामा बीन लादेन त मरे तर उनले विस्तार गरेको संगठन भने अझै जीवितै छ।