जनविद्रोहका लागि गृह चाहेको माओवादी खुलासा

  • 4 मे 2011
उपप्रधानमन्त्री कृष्णबहादुर महरा
Image caption महराले सरकारमा माओवादी पार्टीको नेतृत्व गरिरहेका छन्।

प्रधानमन्त्री झलनाथ खनालले सरकारमा एकीकृत नेकपा माओवादीको नेतृत्व गरिरहेका उपप्रधानमन्त्री कृष्णबहादुर महरालाई गृह मन्त्रालयको जिम्मेवारी दिएका छन्।

पटक पटकको प्रयासपछि प्रधानमन्त्रीले बुधबार मन्त्रिमण्डललाई करीब पूर्ण आकार दिएका हुन्।

थपिएका नयाँ मन्त्रीहरुमा माओवादीका आठ, फोरमका तीन तथा नेकपा एमाले, माले र संयुक्तका एक-एकजना छन्।

माओवादीबाट चारजना र फोरमबाट एकजना राज्यमन्त्री नियुक्त भएका छन्।

उनीहरुलाई प्रधानमन्त्री खनालले बुधबार साँझ पद तथा गोपनियताको शपथ खुवाएका थिए।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले विस्तारसँगै सरकारको पक्षमा संविधानसभामा तत्काल कायम संख्याको दुई तिहाई बहुमत पुगेको दावी गरेका छन्।

अप्ठेरो

तर एमाले प्रचार विभाग प्रमुख प्रदिप ज्ञवालीले प्रधानमन्त्री खनालको कदम पार्टी निर्णय विपरित भएको बताए।

उनले भने, "शान्ति प्रकृयामा प्रगति नहुँदासम्म सुरक्षासँग सम्बन्धित मन्त्रालय नदिने पार्टीको निर्णय हो। त्यसैले बिहिबारदेखि हुने पोलिटब्युरो बैठकमा यो विषयलाई गम्भीर रुपमा उठाउँछौं।"

नेता ज्ञवालीले पार्टीभित्र खनालले अप्ठेरो स्थिति व्यहोर्नु पर्ने सांकेतिक चेतावनी पनि दिए।

उनले भने, "प्रधानमन्त्रीको कदमले पार्टीको आन्तरिक जीवन र राष्ट्रिय राजनीतिलाई जटिल स्थितिमा पुर्‍याएको छ।"

जनविद्रोहका निम्ति

यसैबीच माओवादीको केहि साता अघि भएको पार्टी प्रशिक्षणको एउटा गोप्य टेप रेकर्ड बीबीसी नेपाली सेवाले प्राप्त गरेको छ।

त्यसमा माओवादीका सचिव सीपी गजुरेलले जनविद्रोहकै निम्ति आफुहरुले गृह मन्त्रालय चाहेको खुलस्त राखेका थिए।

गजुरेलको भाषणको अंश

उनले भनेका छन्, "जनविद्रोह तयारीमा पहिलो बाधा प्रहरीले पुर्‍याउँछ, पहिलो मूठभेड भयो भने प्रहरीसँग हुन्छ, अहिल्यै सेनासँग हुँदैन। त्यसैले रक्षा भन्दा हामीलाई गृह मन्त्रालय महत्वपूर्ण भएको हो।"

त्यसै कारण नै प्रधानमन्त्रीसँगको सात बुँदे सहमतिमा मन्त्रालयबारे लेखिएको उनको भनाइ थियो।

उनले उक्त धारणा धरानमा गत फागुन १५ गते आयोजित पूर्वाञ्चलस्तरीय स्वयंसेवक परिचालन समितिको एउटा प्रशिक्षणमा राखेका थिए।

गजुरेल, माओवादीकै शब्दमा, जनविद्रोहमा जोड दिने समूहका एक नेता हुन्।

विवाद

लामो आन्तरिक विवादपछि माओवादी बुधबार दिउँसो उपप्रधानमन्त्री कृष्णबहादुर महरालाई गृहमन्त्रालयको जिम्मेवारी दिने निर्णयमा पुगेको हो।

यसअघि अध्यक्ष प्रचण्ड पक्षबाट वर्षमान पुन अनन्त र उपाध्यक्ष मोहन वैद्य किरण पक्षका देवप्रसाद गुरुङलाई भावी गृहमन्त्रीको रुपमा माओवादीभित्र अघि सारिएको थियो।

तर गुरुङ विस्तारित मन्त्रिमण्डलमा परेनन् भने अनन्तले शान्ति मन्त्रीबाट बुधबार नै राजीनामा दिएका छन्।

उपप्रधानमन्त्री सहित अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सामेल भएको मधेसी जनअधिकार फोरमभित्र पनि असन्तुष्टि देखा परेको छ।