विशेष समितिमा सेना समायोजनको ठोस प्रस्ताव आएन

  • 6 मे 2011
माओवादी अध्यक्ष प्रचण्ड
Image caption सेना समायोजनको मुद्दा समाधानमा प्रचण्डकै भूमिका प्रमुख हुने अन्य दलको भनाई छ

सेना समायोजनका लागि ठोस पहल गर्ने निर्णय सहित एकीकृत नेकपा माओवादीको केन्द्रीय समिति बैठक करिब एक साता अघि सम्पन्न भएपछि पहिलोपल्ट शुक्रबार बसेको विशेष समिति बैठकमा सो बारे कुनै ठोस प्रस्ताव पेश गरिएन।

करीब डेढ महिनापछि बसेको समितिको बैठकमा प्रधानमन्त्री झलनाथ खनालले कार्यदलको सक्रियता बढाउन निर्देशन दिएका थिए।

तर कार्यदलकै सदस्यहरुले चाहिं समस्या समाधानका लागि शीर्ष तहको राजनीतिक समझदारी अनिवार्य भएको बताएका छन्।

साँघुरियो मतभेद

कार्यदलका एकजना सदस्य तथा माओवादी नेता जनार्दन शर्माका अनुसार डेढ महिना अघि बनाइएको कार्यदलका गृहकार्यहरुबाट मतभेदहरु साँघुरिएका छन्।

शर्माले भने, “हामी समाधानका लागि सहमतिको नजिक पुगेका छौं।”

कार्यदलमा केही प्रगति भएको अर्का सदस्य नेपाली कांग्रेसका नेता डा रामशरण महतले पनि स्वीकारे।

जिम्मेवारी

तर समस्या समाधान गर्ने जिम्मेवारी भने माओवादीकै काँधमा रहेको डा महतले बताए।

उनले भने, “यस अघि भएका सन्धि, सम्झौता कार्यान्वयन गरी समस्या समाधान गर्न प्रचण्ड तयार हुनुपर्छ, उनी नताती अरु तातेर हुँदैन।”

मन्त्रिपरिषद विस्तार गर्दा माओवादीलाई गृहमन्त्री दिएकोमा आफ्नै पार्टीभित्र चर्को आलोचना खेपेपछि शान्ति प्रक्रियामा पनि विशेष उपलब्धि भएको छ भन्ने सन्देश दिन शुक्रबारको बैठकमा प्रधानमन्त्रीले केहि संकेत दिने अपेक्षा कतिपयको थियो।

तर त्यसो हुन सकेन।

सुरक्षा निकायमा समायोजन हुनसक्ने संख्या, समायोजन मापदण्ड, समायोजन विधि र पुनर्स्थापना प्याकेज लडाकू व्यवस्थापनका मुख्य मुद्दा हुन्।

बीबीसीकी काठमाडौंस्थित एकजना संवाददाता भन्छिन्, माओवादी अध्यक्ष प्रचण्ड ती विषयहरुमा लचक नभई समस्या समाधान हुन मुश्किल छ।