एमाले नेता नेपालद्वारा कांग्रेससंग सहकार्यमा जोड

  • 9 मे 2011
प्रधानमन्त्री झलनाथ खनाल
Image caption खनाल नेतृत्वको सरकार विफल भइसकेकोले दलहरु तात्न पर्ने नेता नेपालले बताए

सरकारमा रहेको एकीकृत नेकपा माओवादीका नेता बाबुराम भट्टराईले नेपाली कांग्रेस सहितको सरकार बन्नु पर्ने धारणा सार्वजनिक गरे लगत्तै नेपालगंज पुगेका नेकपा एमालेका नेता माधव कुमार नेपालले पनि कांग्रेससंग नमिली शान्ति र संविधान निर्माण असम्भव भएको बताएका छन्।

नेपालको इतिहासमा कम्यूनिष्ट र कांग्रेसको सहकार्यबाटै ठूला परिवर्तन भएकाले देशलाई संक्रमणबाट मुक्त गर्न फेरी पनी त्यो सहकार्य आवश्यक रहेको उनको भनाई थियो।

शर्त

तर त्यस्तो सहकार्यकालागि पहिले माओवादी निशस्त्र हुनु पर्ने उनले बताए।

“हतियारको व्यवस्थापन सहित समायोजन र पुनर्स्थापना गर्दै अघि माओवादी बढ्यो भने यो सहकार्य सम्भव छ,” नेता नेपालले बताए।

संविधानसभाको म्याद थप्नका लागि जनतालाई संविधानको प्रारम्भीक मस्यौदा जेठ १४ गते भित्रै दिनु पर्ने भएकोले अब सबै दल तथा नेताहरुले बाँकी कुराहरुलाई थाँती राख्दै त्यसको तयारीमा जुट्नु पर्नेमा उनले जोड दिए।

वर्तमान सरकारले केही गर्न नसक्ने भएकाले दलहरुले नै आफ्नो जिम्मेवारी पूरा गर्नु पर्ने उनको भनाई थियो।

“सरकार त विफल भयो। त्यसो भन्दैमा दलहरु चुप लागेर बस्नु हुँदैन,” उनले भने।

प्रधानमन्त्री झलनाथ खनालले पार्टी निर्णय विपरीत माओवादीलाई गृह मन्त्रालय दिएको हुनाले पार्टीको छिट्टै बस्ने बैठकले प्रधानमन्त्री खनाललाई कारवाही वा आत्मआलोचना के गर्ने भन्ने निर्णय गर्ने उनको भनाई थियो।