संविधासभाको म्याद थप्न कांग्रेसका शर्त

  • 14 मे 2011
नेपाली कांग्रेसको केन्द्रिय कार्यालय
Image caption कांग्रेसले माओवादी लडाकुको छुट्टै समुह बनाउन नहुने अडान राखेको छ

संविधानसभाको म्याद एक वर्षलाई थप्ने सरकारको प्रस्तावमा प्रमुख विपक्षीको समर्थन खोज्ने प्रधानमन्त्रीको शनिबारको प्रयास असफल भएको छ।

प्रमुख विपक्षी नेपाली कांग्रेसको संसदीय दलका नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीसँग वर्तमान गठबन्धनको विघटन र लडाकु व्यवस्थापनको ठोस उपलब्धी नभै आफुहरुले संविधान सभाको म्याद थप्ने प्रस्तावमा मतदान नगर्ने बताएका छन्।

प्रमुख विपक्षी र आफ्नै दलभित्र सामान्य छलफल समेत नचलाई संविधान सभाको म्याद थप्न प्रस्ताव दर्ता गराएको भन्दै आलोचना खेपीरहेका प्रधानमन्त्री झलनाथ खनालले शनिबार कांग्रेस नेता पौडेललाई बालुवाटार निम्तयाएर प्रस्तावको समर्थन गर्न आग्रह गरेका थिए।

तर पौडेलले प्रधानमन्त्रीसँग वर्तमान गठबन्धन विघटनको माग राखेका थिए।

पौडेल भन्छन् “सातबुँदे सहमतिका आधारमा बनेको वर्तमान गठबन्धन विघटन हुनुपर्छ त्यसपछि मात्रै हामीले म्याद थप्ने प्रस्तावको पक्षमा मत हाल्न सक्छौं।”

पौडेलले माओवादी लडाकु व्यवस्थापनमाथि व्यवहारिक टुंगो लगाए मात्र आफुहरुले संविधान सभाको म्याद थप्न सहयोग गर्न सक्ने बताएका थिए।

उनी भन्छन्, “समायोजन हुन सक्ने लडाकु संख्या तोकिनुपर्‍यो, समायोजन हुन चाहनेलाई सुरक्षा निकायलाई बुझाउनुपर्‍यो, हतियार राज्यलाई बुझाउनुपर्‍यो, यसपटक कागजमा लेखेर मात्र मान्नेवाला छैनौं।”

कांग्रेसलाई मान्य हुने गरी शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन लडाकु व्यवस्थापनको विशेष योजना रहेको प्रधानमन्त्री निकटहरुले बताए पनि शनिबारै बसेको माओवादीको पदाधिकारी बैठकले आफ्नो छुट‍्टै समुहको पक्षमा रहेको सार्वजनिक गरेको छ।

कांग्रेस माओवादी लडाकुको छुट‍्टै समुह बनाउने प्रस्तावको विपक्षमा रहँदै आएको छ।

प्रमुख विपक्षी कांग्रेस मात्रै बाहिर रहे प्रधानमन्त्री खनालको म्याद थप्ने प्रस्ताव संविधान सभामा दुइ तिहाइबाट पारित हुन सक्छ।

तर त्यसले नेपालको राजनीतिलाई सहज बनाउनेमा धेरैको शंका छ।