संविधान लेखनका अवरोध हटाउने प्रयास अवरुद्ध

  • 18 मे 2011
माओवादी अध्यक्ष प्रचण्ड
Image caption प्रचण्ड नेतृत्वको उपसमितिको बैठक लामो अन्तरालपछि डाकिएको थियो

प्रमुख दलका प्रमुख नेताहरु नै नगएपछि संविधान लेखनमा दलहरुबीच रहेका विवाद सुल्झाउने प्रयास अवरुद्ध हुन पुगेको छ।

संविधानसभाको म्याद दुई हप्ता पनि बाँकी नरहेका बेला संविधान लेखनका मतभिन्नता सुल्झाउने जिम्मा पाएको उपसमितिको बैठक बोलाइएको थियो।

कारण

उपसमितिका संयोजक तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकको अवरोध बिहिवार नै अन्त्य हुने बताए।

उनले भने, "मैले बाहिर रहेका सदस्यहरुसँग कुरा गरें। बिहिवार बैठक गर्ने कुरो भएको छ।"

लामो अन्तरालपछि डाकिएको उपसमितिको बैठकमा बहुमत सदस्य नै अनुपस्थित थिए।

गृह जिल्ला तनहुँ पुगेका कांग्रेस उपसभापति रामचन्द्र पौडेलले भने, "उपसमितिको म्याद थप्ने बितिकै प्रचण्डजी बैङ्कक जानु भयो, म गृह जिल्ला आएँ। बैठकबारे अघिल्लो राती मात्रै खवर भएकाले उपस्थित हुन सकिनं।"

पाँच सदस्यीय उपसमितिका अर्का सदस्य नेकपा एमालेका नेता माधवकुमार नेपाल र सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण पनि राजधानी बाहिरै थिए।

विगतमा लामो समय उपसमितिको बैठक नडाकेको आरोप प्रचण्डमाथि लगाउने उनीहरुले त्यो असन्तुष्टि सांकेतिक रुपमा दर्शाएको हुनसक्ने पनि ठानिएको थियो।

अस्वीकार

तर बीरगंजबाट बीबीसीसँग कुरा गर्दै नेता कर्णले त्यो आशंका अस्वीकार गर्दै त्यसलाई संयोगको रुपमा मात्र अर्थ्याए।

उनले भने, "निश्चित हो, प्रचण्डजीले बैठक नबसाएर डेढ महिना खेर फाल्नु भयो। त्यसैले म अनुपस्थित भएको हैन। मेरो पहिले नै कार्यक्रम निर्धारण भइसकेको थियो।"

उनले बिहिबारको बैठकमा पनि आफु सहभागी हुन नसक्ने बताए।

तर नेताद्वय नेपाल र पौडेल बैठकमा सहभागी हुने संयोजक प्रचण्डले जनाएका छन्।

संविधानसभाको म्याद थप्ने संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता भैसकेको छ।

त्यो पारित गराउन सरकारले केही प्रतिपक्षी पार्टीको समर्थन जुटाउनु पर्ने छ।