सरकारलाई हतियार बुझाउन माओवादी असहमत

  • 26 मे 2011
माओवादी उपाध्यक्ष मोहन वैद्य किरण
Image caption नेता किरणले हतियार बुझाउने सहमतिनै नभएकोले उक्त माग स्वीकार्न नसकिने जनाए

माओवादी आफैं सहभागी सरकारलाई उसको हतियार राखिएको कन्टेनरहरुको साँचो बुझाउन नेपाली कांग्रेसले गरेको आग्रहलाई माओवादीले अस्वीकार गरिदिएपछि वार्ता विफल भएको छ।

तर नेताहरुले शुक्रबार फेरि बसेर समस्या टुंग्याउने बताएका छन्।

अड्कियो

बिहान राष्ट्रपतिसंगको भेटमा सहमति चाँडै गर्ने वाचा गर्दै निस्किएका तीन दलका शीर्ष नेताहरुले दिनभरको बैठकमा कुनै निश्कर्ष निकाल्न सकेनन्।

प्रधानमन्त्री निवास बालुवाटारमा झण्डै ६ घण्टा बिताएका नेताहरुले तह तहमा आन्तरीक, द्विपक्षीय एवं त्रिपक्षीय कुराकानी गरेका थिए।

अन्तमा कुरा अड्कियो उही सेना र हतियारको विषयमा।

गृह मन्त्री माओवादीकै नेता रहेको बखतमा गृह मन्त्रालयलाई नै साँचो बुझाएपनि स्वीकार्य हुने नेपाली कांग्रेसको भनाइ माओवादीले मानेन।

“अहिले मनोवैज्ञानिक रुपमा पनि यो सरकारप्रति विश्वास गर्न माओवादीलाई सजिलो छ। त्यसकारण सरकारलाई बुझाउँदा खेरि गृह मन्त्रालयलाई बुझाउनु हुन्छ वा रक्षा मन्त्रालयलाई बुझाउनु हुन्छ, त्यो हामीलाई आपत्ती हुँदैन। तर हतियारचाहिं सरकारलाई बुझाउनु पर्छ भन्ने हाम्रो मान्यता छ,” नेपाली कांग्रेसका महामन्त्री कृष्ण सिटौलाले बताए।

‘निरस्त्रीकरण अमान्य’

केही दिन यता प्रतिपक्षी नेपाली कांग्रेसले आफ्नो प्रमुख शर्त बनाएको हतियार बुझाउनुपर्ने विषयलाई माओवादीले शान्ति सम्झौता विरुद्ध भएकोले मान्न नसकिने बताएको छ।

आफ्नै नेताको मातहतमा रहेको गृह मन्त्रालयलाई हतियार बुझाउन चाहीं किन नमानेको भन्ने प्रश्नको स्पष्ट जवाफ माओवादी नेताहरुले दिन चाहेनन्।

तर माओवादीभित्रको अनुदार खेमा मानिने समूहले हतियार बुझाउनु भनेको आत्मसमर्पण गरेको सरह हुने चित्रण गरिरहेका छन्।

सो खेमाका नेता तथा बिहिबारको बैठकमा सहभागी माओवादी उपाध्यक्ष मोहन वैद्य किरणले भने, “हतियार बुझाउने भनेको मतलब त निरस्त्रीकरण हो। निरस्त्रीकरण गर्ने भन्ने कुनै सहमति भएकै छैन। समायोजन गरेर समाधान गर्ने सहमति पो भएको हो।”

संविधानसभाको म्याद सकिने जेठ १४ को समयसीमा संघारमै आएपछि तातेका नेताहरु तारन्तार बैठकमा व्यस्त हुन थालेका छन्।

तर समयले च्याप्दै ल्याएका कारण यस वर्षपनि गत वर्षजस्तै बहुअर्थ लाग्ने सहमति गरेर अन्तिम अवस्थामा म्याद थप्ने सम्भावना नकार्न नसकिने धेरैको अनुमान छ।