अविश्वासको घेरावन्दीबाट प्रचण्डको पहल

  • 28 मे 2011
माओवादी अध्यक्ष प्रचण्ड
Image caption प्रचण्डका निम्ति अबको यात्रा थप निर्णायक र चुनौतिपूर्ण हुने देखिन्छ

संविधान लेखन र शान्ति प्रकृया संकटमा परेका बेला सबैभन्दा ठूलो दल एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि असहज परिवन्दमा फसेका छन्।

केहिदिन यता शान्ति प्रकृया टुंगोमा पुर्‍याउन र संविधानसभाको म्याद बढाउन दलहरुबीच चलेको छलफल र वहसको एकजना केन्द्रिय पात्र बने, प्रचण्ड।

सम्भावित संकटको कुण्डबाट देशलाई पार लगाउन निर्णायक भूमिका देखिने बेला उनी पार्टीभित्रको फरक खेमा र प्रतिपक्षि दलको चरम अविश्वासको घेराबन्दीमा छन्।

प्रचण्डले जेठ १३ गते दलहरुसँगको वार्ताकोबीचमा कार्यकर्ता सामू गइ भनेका थिए, "रगतसँग साटिएका बन्दूकहरु सजिलै थन्क्याइने छ, बुझाइने भन्ने कुरा तपाईहरुलाई लागेको छ भने त्यो सत्य हुने छैन।"

'आफू ड्गमगाउने आशंका पार्टीभित्र व्याप्त छ' भन्ने बुझेरै उनले त्यसरी कार्यकर्तलाई आश्वस्त पार्न खोजेको हुनुपर्छ।

उपाध्यक्ष मोहन वैद्य किरण पक्ष प्रचण्डसँग सहकार्यको इतिहासमा सम्भवत: सवैभन्दा सशंकित बनेको छ।

पश्चाताप

'सशस्त्र विद्रोहको योजनाकार डा.बाबुराम भट्टराई' भनी सार्वजनिक टिप्पणी हुन थाल्दा माओवादीका तत्कालिन महामन्त्री प्रचण्डको रेखाचित्र सार्वजनिक गरिएको थियो।

दोश्रो राष्ट्रिय सम्मेलनबाट त प्रचण्डपथलाई मार्ग निर्देशक सिद्धान्त नै बनाइयो।

प्रचण्डलाई स्थापित गराउने उदेश्यले लिइएका यी दुई महत्वपूर्ण निर्णयका पछाडि उभिएको किरण पक्ष अहिले 'प्रचण्डलाई देवत्वकरण गरिएछ' भनी पछुताई रहेको छ।

प्रचण्डप्रति किरणपक्षको मोहभंगले माओवादी खुला राजनीतिमा आएदेखि गति लिएको पाइन्छ।

बालाजु पाँचौँ विस्तारित बैठक (०६४ साउन) मा किरण पक्षले प्रचण्डको कार्यशैलीप्रति तीव्र असन्तुष्टी जनाएको थियो।

खरिपाटी राष्ट्रिय भेला (०६५ मंसिर) मा त कार्यनीतिक र पालुङ्टार विस्तारित बैठक (०६५ मंसिर) सम्म पुग्दा सैद्धान्तिक र राजनीतिक रुपमा विचलित भएको आरोप प्रचण्डमाथि लगायो।

अहिले आएर त त्यो खेमाले प्रचण्डको नेतृत्व क्षमतामै प्रश्न उठाएको छ।

त्यसक्रममा 'मध्यपन्थी अवसरवादी प्रचण्डले पालुङ्टारको आदेश लत्याएको' अभियोग किरण पक्षले पार्टीमा विधिवत दर्ता गराएको छ।

आन्तरिक समिकरण

पछिल्लो पटक शान्ति र संविधानको पक्षमा भनिएको बाटो समात्दा प्रचण्डका सहयात्री बन्न पुगेका छन्, पालुङ्टारपछि बिछोडिएका अर्का उपाध्यक्ष भट्टराई।

तर आफ्नै दलको सेनाको हिरासतदेखि दक्षिणपन्थी र भारतीय एजेण्टको आरोप खेपेको भट्टराई पक्ष पनि प्रचण्डप्रति पूर्ण आश्वस्त पाइँदैनन्।

आफूहरु एकअर्कासँग 'भट्टराईलाई दक्षिणपन्थी र किरणलाई जडसूत्रवादी' चित्रित गरी प्रचण्डले बीचमा खेल्ने गरेको बुझाई दुबै पक्षको पाइन्छ।

ती दुबै पक्षको विपरित दवावमा चेपिएकाले नै प्रचण्ड द्विविधिग्रस्त देखिने गरेको बाहिरि टिप्पणीलाई स्वीकार गर्दैनन्, उनी निकटहरु।

पालुङ्टार बैठकपछि प्रचण्डले शक्ति आर्जन गरेको र पार्टीलाई चाहेको बाटोमा डोर्‍याउन सफल उनीहरुको अनुभव छ।

उनी पक्षधरहरुले झलनाथ खनाललाई प्रधानमन्त्री बनाउनुका साथै गृह मन्त्रालय पार्टीको हात पार्न सफल हुनलाई त्यसकै परिणाम मान्छन्।

अप्ठेरो

तर प्रचण्ड पार्टीभित्रै अप्ठेरोमा भएकैले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, संवैधानिक समितिको सभापति गुमाउनुका साथै राष्ट्रिय स्वाधीनताको पक्षमा भन्दै गरिएको आन्दोलन विफल भएको विश्लेषण उनीहरुको छ।

त्यसैले 'प्रचण्डलाई जायज लाग्नु पर्‍यो, निर्णायक पाइला चाल्न स्वतन्त्र छन्' भन्ने उनी समर्थक नेताको निर्क्योल छ।

तर प्रचण्डप्रति बाहिर खासगरी कांग्रेसको पनि ठूलै अविश्वास र आशंका छ।

प्रचण्डले पार्टीभित्रको विवाद देखाएर आफूहरुलाई जिल्याउँदै आएको भन्दै विगतमा 'कांग्रेसभित्रै छद्मभेषी माओवादी' को आरोप खेपेका नेताहरु संविधानसभको म्याद सकिने दिनसम्म हतियार नबुझाई संविधानसभाको म्याद थप्न नसघाउने अडानमा थिए।

जवकि त्यो माग पुरा गरेर संविधानसभा जोगाउन खोज्दा पार्टी रोक्न नसकिने अनुमान प्रचण्डले राम्रैसँग गरेको हुनुपर्छ।

त्यो अप्ठेरो बुझेरै उनले 'तत्काल हतियार नबुझाउने' अडान अन्तिम घडीसम्म छाडनेनन्।

तर दोहोरो अविश्वासको शिकार भइरहेका प्रचण्डका निम्ति जेठ १४ गतेपछिको यात्रा थप निर्णायक र चुनौतिपूर्ण हुने देखिन्छ।

पार्टीभित्रकै विपरित दवाव र सहयात्री दलहरुको अविश्वासकाबीच उनी कस्तो बाटो तय गर्ने निधोमा पुग्छन् भन्ने कुरामा उनको दल र सिंगो राजनीतिलाई प्रभावित पार्ने ठानिएको छ।