लडाकु पुनवर्गीकरण सर्भे तत्काल शुरु गरिने

  • 2 जुन 2011
jhalanath khanal तस्वीर कपीराइट BBC World Service
Image caption प्रधानमन्त्रीले लडाकु समायोजन कार्यलाई उच्च प्राथमिकता दिने भनेका छन्

माओवादी लडाकु व्यवस्थापन विशेष समितिको विहिबारको बैठकमा माओवादी नेताहरुलाई सुरक्षा दिइरहेका माओवादी लडाकु र तिनका हतियारलाई सम्बन्धित शिविरमा पठाउने निर्णय गरिएको छ।

संविधानसभाको दोश्रोपटकको म्याद थप्नु अघि माओवादी नेताहरुले प्रयोग गर्दै आएका दोहोरो सुरक्षा प्रणाली अन्त्य गरिनुपर्ने माग विशेषगरी प्रमुख विपक्षी नेपाली कांग्रेसले राखेको थियो।

बिहिबारको बैठकमा सहभागी कांग्रेस नेता डा रामशरण महतले भने, “दोहोरो सुरक्षाबाट मुक्त भएका लडाकुलाई सम्बन्धित शिविरमा पठाउने र तिनले प्रयोग गर्दै आएका हतियार शक्तिखोर शिविरका कन्टेनरमा राख्ने निर्णय भएको छ।”

त्यस्तै विभिन्न शिविरमा रहेका कमाण्डरहरुले विशेष समितिलाई नियमित रुपमा रिपोर्टिङ गर्नुपर्ने भएको छ।

त्यस्तो व्यवस्था यस अघि नै गरिए पनि नियमित हुन नसकिरहेको डा महतले बताए।

सर्भे

त्यसैगरी लडाकु पुर्नवर्गिकरणका लागि आवश्यक सर्भे कारवाहि तत्काल अगाडि बढाउने निर्णय पनि विशेष समितिले गरेको छ।

डा महतका लागि लडाकुको पुनवर्गिकरणका लागि आवश्यक सर्भे गर्न चार समुहमा गरेर एक सय बीस जनालाई सर्भे गर्न पठाउने र करिब दुइ महिना भित्रै सर्भे गरिसक्ने निर्णय गरिएको छ।

पाँचदिन अघि संविधान सभाको म्याद थप्दा गरिएको सहमतिको पहिलो बुँदा थियो- तीन महिनाभित्र शान्ति प्रक्रियाका मूलभूत काम सम्पन्न गर्ने।

राजनीतिक निर्णय

संयुक्त राष्ट्र संघीय सहयोग नियोग अनमिनले प्रमाणीकरण गरिदिएका करीब १९ हजार मध्ये कति जना लडाकुलाई समायोजन गर्ने र समायोजनमा नपर्नेलाई कस्तो राहत प्याकेज दिने भन्नेमा शीर्ष तहमा राजनीतिक निर्णय हुनुपर्ने भएकाले बिहिबारको विशेष समिति बैठकमा ति विषयहरु छलफलमै नल्याइएको बताइएको छ।

यसैबीच विहिबार बसेको एमाले केन्द्रीय कमीटिको बैठकले एक साता भित्र लडाकु समायोजनको कार्यतालिका तयार पार्न सुझाव दिएको छ।