आफ्ना नेताहरुको दोहोरो सुरक्षा प्रणाली हटाउने माओवादी निर्णय

  • 1 जुन 2011
माओवादी नेताहरु तस्वीर कपीराइट nepali
Image caption अन्तत: माओवादीले आफ्ना नेताहरुको दोहोरो सुरक्षा हटाउने निर्णय गरेको छ।

माओवादी नेताहरुले पाउदै आएको दोहोरो सुरक्षा प्रणाली हटेपछि हतियार सहितका माओवादीका निजीं सेना शिविरहरुमा फिर्ता हुनेछन् र माओवादी नेताहरु सरकारी सुरक्षाकर्मीमा निर्भर हुने छन्।

अध्यक्ष प्रचण्डको निवासमा बसेको माओवादी पदाधिकारी वैठकले आफ्ना नेता तथा सेनाले प्रयोग गर्दै आएका सवारी साधनलाई पनि वैधानिकरुपमा दर्ता गर्ने प्रक्रिया थाल्ने निर्णय गरेको छ।

सो निर्णय कार्यान्वयन भएपछि माओवादी नेताहरुको सुरक्षामा खटिएका माओवादी सेनाका सदस्यहरुलाई शिविर फर्काइने जनाइएको छ।

वैठकपछि संवाददाताहरुसँग बोल्दै एकजना उपाध्यक्ष बाबुराम भट्टराईले भने माओवादीले विश्वासको वातावरण बनाउनको निम्ति यस्तो निर्णय गरिएको हो।

'सवारी दर्ता'

“हामीले दोहोरो सुरक्षा नलिने घोषणा गरेका छौं, तर यो निर्णय कार्यान्वन हुन केही समय लाग्छ।”

नेता भट्टराईका अनुसार बुधबारको वैठकले माओवादी नेता तथा सेनाले प्रयोग गर्दै आएका सवारी साधनहरुलाई देशका अन्य सवारी साधनलाई जस्तै एउटै तरिकाले दर्ता नंम्बर दिनको लागि सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ।

“विशिष्ट परिस्थितिमा हाम्रा पिएलए (सेना)को फरक नम्बर थियो, अब एउटै खाल्को गराउन सरकारलाई आग्रह गर्ने निर्णय गरेका छौं।”

शान्ति प्रक्रियामा आएपछि पनि आफ्ना दलका निजी सुरक्षाकर्मी राखेको भन्दै माओवादीले आलोचना खेप्दै आएको थियो।

माओवादीले आफ्ना कतिपय नेता र सेनाका सवारी साधनहरुमा पनि बेग्लै खाल्का दर्ता नंबर चलाउदै आएको छ।

‘स्वागतयोग्य’

माओवादीको पछिल्लो निर्णयको नेपाली कांग्रेसका एकजना नेता तथा माओवादी सेना समायोजन विशेष समितिका सदस्य मीनेन्द्र रिजालले स्वागत गरे।

“यो निर्णय स्वागतयोग्य सुनिन्छ, तर ती सुरक्षाकर्मीका हतियार कहाँ जान्छन्, त्यस बारे के निर्णय गरिएको छ?”

पाँच बुदे सहमति अनुसार तीन महिना भित्र शान्ति प्रक्रिया टुङ्ग्याउनको निम्ति महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको माओवादी सेना समायोजन विशेष समितिको वैठक भने बुधबार स्थगित हुन पु्ग्यो।

नेता रिजालका अनुसार सो वैठक बिहिबार बस्नेछ, र त्यस्ले माओवादी लडाक‍ूहरुको समायोजन र पुनस्थापनाको विषयमा महत्वप‍ूर्ण निर्णय लिन सक्छ।