भदौको शुरुमै संविधानको पहिलो मस्यौदा ल्याउने तयारी

  • 9 जुन 2011
constituent assembly nepal
Image caption वरिष्ठ नेताहरुले भदौ १ गते संविधानको पहिलो मस्यौदा तयार पार्ने भएका छन्

संविधान लेखन मूल समिति अन्तर्गतको मतभेद मिलाउने उपसमितिको बैठकले भदौ १ गते संविधानको पहिलो मस्यौदा तयार गर्ने निर्णय गरेको छ।

उपसमितिले निर्धारित भन्दा पन्ध्र दिन अगावै संविधानको पहिलो मस्यौदा तयार पार्ने आन्तरिक कार्यतालिका तयार पारेको हो।

संविधानसभाको सबैभन्दा ठूलो दल एकीकृत नेकपा माओवादीका शीर्ष नेता पुष्पकमल दाहाल प्रचण्ड संयोजक भएका कारण मात्र होइन संयोजक भए यता विवाद मिलाउन उनले देखाएका लचकताका कारण उपसमिति सबैको ध्यान तान्न सफल हुँदै आएको छ।

मस्यौदा

उपसमिति संयोजक प्रचण्ड, नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल, प्रधानमन्त्री झलनाथ खनाल तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका नेताहरु उपस्थित बिहिबारको बैठकले उक्त निर्णय गरेको हो।

बैठकमा उपस्थित उपसमितिका एकजना सदस्य तथा सदभावना पार्टीका नेता लक्ष्मणलाल कर्णले भने, “समितिले मस्यौदा तयार पारेपछि संविधानसभामा पेश गर्न समय मिलोस भनेर भदौ १ गते नै तयार पार्ने निर्णय गरिएको हो।”

संविधान लेखनमा अझ पनि राज्यको शासकीय स्वरुप, निर्वाचन प्रणाली र राज्यको पुनर्संरचना जस्ता विषयहरुमा दलहरुबीच गम्भीर मतभेद बाँकी नै छन्।

कार्यदल

बिहिबारको बैठकले ती विषयमा मतभेद हटाउन छुट‍्टाछुट्टै कार्यदल बनाउने निर्णय गरेको छ।

विवाद मिलाउने र लेखन काम सँगसँगै गर्दै लग्ने पनि नेताहरुले निर्णय गरेका छन्।

कर्णले भने, “कार्यदलले विवाद मिलाउँदै लान्छ, उपसमितिले प्रतिवेदन तयार पार्दै जान्छ, उक्त प्रतिवेदनमाथि आधारित भएर संवैधानिक समितिले मस्यौदा तयार पार्दै जान्छ।”

संविधानको पहिलो मस्यौदा र शान्ति प्रक्रियाको मूलभूत काम थपिएको तीन महिनामा सम्पन्न नगरे आगामी भदौ १४ गते संविधानसभाको म्याद फेरि थप्ने कुरामा सहमत नहुने अडान खासगरी प्रमुख विपक्षी नेपाली कांग्रेसले यस अघि नै राखिसकेकाले पनि यसपटक संविधानको पहिलो मस्यौदा आउने कतिपयको अपेक्षा छ।