तीन महिनाभित्र शिविर र कन्टेनर खाली गराउन कांग्रेसको माग

  • 3 जुन 2011
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल
Image caption पौडेलका अनुसार माओवादीले हिंसा त्यागको घोषणा गरे धेरै गाँठाहरु फुक्नेछन्

संविधानसभाको म्याद थप्न गरिएको पाँच बुँदे सहमतिमा उल्लेखित तीन महिनाभित्र शान्ति प्रक्रियाको मूलभूत कार्य सम्पन्न गर्ने भन्ने कुराको मूल आशय माओवादीका लडाकूहरुको शिविर र हतियारका कन्टेनर खाली गराउननै रहेको नेपाली कांग्रेसले बताएको छ।

साथै, कुनै अलमल नगरीकन प्रधानमन्त्री झलनाथ खनालले तुरुन्त राजीनामा गर्नुपर्ने उसले माग गरेको छ।

‘गाँठो फुक्ने आधार’

संविधानसभाको म्याद थपेपछि शुक्रबार पहिलोपटक बसेको संसदको बैठकमा बोल्दै नेपाली कांग्रेसका उपसभापति तथा संसदीय दलका नेता रामचन्द्र पौडेलले दुईवटा प्रमुख सत्ताधारी दलहरुसंग छुट्टाछुट्टै माग राखे।

पाँच बुँदे सहमतिको पहिलो बुँदामा उल्लेखित शान्ति प्रक्रियाका मूलभूत कुराहरु तीन महिनाभित्र सम्पन्न गरिसक्नुपर्ने भन्ने वाक्यबारे भिन्न भिन्न धारणा आएका बेला नेता पौडेलले त्यसको आसय माओवादीका लडाकूहरुको समायोजननै रहेको बताए।

“मूलभूत काम हुने भनेको शिविर खाली हुनुपर्‍यो, हतियार व्यवस्थापन हुनु पर्‍यो तथा कन्टेनर खाली हुनुपर्‍यो। साथै कब्जा गरिएका घरजग्गा फिर्ता हुनुपर्‍यो र कानुनको राज स्थापित हुनुपर्‍यो,” पौडेलले भने।

माओवादीले हिंसाको अन्त्य भएको घोषणा गरे धेरै गाँठा फुक्ने उनको भनाइ थियो।

कटाक्ष

पाँच बुँदे सहमतिमा प्रधानमन्त्रीको राजीनामासंग सम्बन्धित पाँचौ बुँदाको व्याख्यालाई लिएर नेता पौडेलले सत्तारुढ नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री झलनाथ खनालप्रति कटाक्ष गरे।

प्रजातान्त्रिक मुलुकमा संसदमा प्रधानमन्त्रीको हस्ताक्षर सहित राजीनामाको कुरा दर्ज भएपछि तत्कालै त्यसको कार्यान्वयन हुनुपर्ने हो कि होइन? अरु मुलुकमा के हुन्छ, हामी सोचौं। अब प्रधानमन्त्रीले अरु व्याख्या र अर्थ लगाउने अवस्था छैन,” उनले भने।

राष्ट्रिय सहमतिको आधार तयार भएपछि मात्र पद छाड्ने प्रधानमन्त्रीको भनाइपछि पौडेलको त्यस्तो प्रतिक्रिया आएको हो।