शान्ति प्रक्रिया र संविधानमा प्रगति नभए कांग्रेसको ‘लोकतान्त्रिक आन्दोलन’

  • 12 जुन 2011
Image caption कांग्रेसका जिल्ला सभापतिहरुले भदौ १४ पछाडिको रणनीति तयार पार्न माग गरेका छन्

प्रमुख विपक्षी नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको राष्ट्रिय भेलाले संविधान सभाको थपिएको म्यादभित्र शान्ति प्रक्रिया र संविधान लेखनमा ठोस प्रगति हुन नसके भदौ १४ पछि शान्तिपूर्ण लोकतान्त्रिक आन्दोलनमा जाने प्रस्ताव पारित गरेको छ।

राजधानी काठमाडौं नजिक धुलिखेलमा आइताबार सम्पन्न दुइदिने भेलामा कांग्रेसका जिल्ला सभापतिहरु र केन्द्रीय सदस्यहरु सहभागी थिए।

संविधान सभाको म्याद थप्न पन्ध्र दिन अघि गरिएको पाँचबुँदे सहमतिको पालनामा माओवादी र प्रधानमन्त्रीले आलटाल गरेको आरोप पनि कांग्रेस सभापतिहरुले लगाएका छन्।

आन्दोलन

भदौ १४ गतेभित्र शान्तिप्रक्रिया टुंगोमा नपुगे कांग्रेस बैकल्पिक बाटोका लागि तयार रहनुपर्ने बुँदा सहितको घोषणापत्र जारी गर्न तयार भएपनि अन्तिम अवसरमा भएको होहल्ला र आपत्तिपछि बैकल्पिक बाटो भन्ने शब्दावलीका ठाउँमा शान्तिपूर्ण लोकतान्त्रिक आन्दोलन गर्ने भन्ने राखिएको बताइएको छ।

कांग्रेस केन्द्रीय सदस्य बद्री पाण्डेका अनुसार लोकतान्त्रिक आन्दोलनको स्वरुप भने केन्द्रीय समितिले तय गर्नेछ।

पाण्डे भन्छन्, “सभापतिहरुको माग केन्द्रीय समितिमा जान्छ र त्यसैले भावी कार्यदिशा तय गर्नेछ।”

विरोध

संविधान सभाको म्याद थप्नु अघि आफ्नो दलले प्रस्तुत गरेको दश बुँदे मार्गचित्र अन्तिम अवसरमा छोडेर पाँचबुँदे सहमति गर्न पुग्नुलाई भेलामा आएका अधिकांश सभापतिहरुले विरोध गरेका थिए।

अहिले त्यहि पाँच बुँदे पनि माओवादी र प्रधानमन्त्रीले कार्यान्वयन गर्न आलटाल गरिरहेको कांग्रेस सभापतिहरुको ठम्याइ छ।

सोलुखुम्बु जि्ल्लाका कांग्रेस सभापति आङगेलु शेर्पा भन्छन्, “दशबुँदे लिएर देशभर जाँदा सर्वत्र स्वागत भएको थियो। नेताहरुले गरेको पाँचबुँदे पनि कार्यान्वयन नहुने हो भने भदौ १४ पछिको रणनीतिबारे पार्टी स्पष्ट हुनुपर्छ भन्ने हाम्रो माग हो।”

भेलाको अन्त्यमा जारी तेह्र बुँदे घोषणापत्रमा कांग्रेसको महासमिति बैठक भदौ १४ अगावै डाकिनुपर्ने, कांग्रेस भातृ संगठनका महाधिवेशन तत्काल डाकिनुपर्ने, जिल्ला सभापतिहरुको भेला वार्षिक रुपमा बोलाइनुपर्ने र जिल्ला सभापतिहरुलाई थप अधिकार दिन विधान संशोधन गरिनुपर्ने माग राखिएको छ।

काठमाडौंस्थित बीबीसीकी एकजना संवाददाता भन्छिन्, एक महिनाको अन्तरालमा राष्ट्रव्यापी भेला र सभापतिहरुको राष्ट्रिय भेला आयोजना गरेको कांग्रेसले उसका नेता कार्यकर्तालाई राजनीतिक अभ्यासको मौका दिलाएको त छ नै, यो संबिधान बनाउन अगाडि नै शान्ति प्रक्रिया टुंग्याउन दवाव बढाउन समेत सहयोगी हुने ठानिएको छ।