संविधान निर्माण कार्यतालिकाबारे विवाद

  • 13 जुन 2011
संविधान सभा
Image caption तीन महिनामा संविधानको मस्यौदा तयार पार्न मुस्किल पर्ने संकेतहरु देखिएका छन्

संविधान निर्माणबारेका विवाद टुङ्ग्याउन सक्रिय बनाइएको उपसमितिमा शान्ति प्रक्रिया पहिला टुङ्ग्याउने कि संविधान निर्माणको एकीकृत मस्यौदा पहिले तयार गर्ने भन्ने बारे ताजा विवाद उत्पन्न भएको छ।

सोही विवादका माझ संविधान निर्माणबारेका विवाद समाधान गर्ने उपसमितिको वैठक सोमबार दोस्रो पटक स्थगित हुन पुग्यो।

संविधानसभाको म्याद भदौ १४ गतेसम्मका लागि थपिएलगत्तै सम्बन्धित समितिहरुले संविधानको मस्यौदा भदौ १ गते र शान्ति प्रक्रियाका आधारभूत काम भदौ १० गते सिध्याउने छुट्टाछुट्टै कार्यतालिका सार्वजनिक गरेका थिए।

तर कार्यतालिका अनुसार काम शुरु हुने बेलामा किचलो शुरु भएको छ।

खिन्नता

विवाद समाधान उपसमिति सदस्य सदभावना पार्टीका लक्ष्मणलाल कर्णले सोमबारको उपसमितिको वैठकमा संयोजक रहेका माओवादी अध्यक्ष प्रचण्ड स्वयं अनुपस्थित भएको प्रति खिन्नता प्रकट गरे।

“इमान्दारी पनि देखिएन, गम्भीरता पनि देखिएन, वैठक नै नभएपछि कसरी विवाद समाधान हुन सक्ला?”

उपसमितिको पछिल्लो वैठकमा तीनवटा कार्यदलहरु बनाएर राज्य पुन:संरचना, साशकीय स्वरुप, निर्वाचन प्रणाली जस्ता विवादित विषयहरुमाथि सहमति जुटाउने कुरा भएको थियो।

अन्यौल

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले शान्ति प्रक्रियाका आधारभूत काम पहिले सकिनु पर्ने अडान राखेको, तर माओवादीका कतिपय नेताहरुले संविधानको मस्यौदा पहिले तयार पार्नु पर्ने धारणा राखेकोले पछिल्लो अन्यौल शुरु भएको नेताहरु बताउँछन्।

कांग्रेसका प्रमुख सचेतक लक्ष्मण घिमिरेले विगतका सहमति अनुसार माओवादी लडाकूहरुको समायोजन र व्यवस्थापनको टुङ्गो पहिले लगाइनु पर्नेमा जोड दिए।

माओवादी नेता देव गुरुङले उपसमितिमा जे जस्तो विवाद भएको भए पनि शान्ति प्रक्रिया र संविधान निर्माण कार्य संगसंगै टुङ्गिनु पर्ने बताए।

आशंका

मंगलबारका लागि निर्धारित उपसमितिको वैठकले अहिलेको विवादको छिनोफानो गर्‍यो भने संविधान निर्माणमा प्रगति हुन सक्ने कतिपयको आशा छ।

तर बारम्बार भईरहने विवादहरुले गर्दा तोकिएको समयमै संविधानको मस्यौदा तयार हुनेमा आशंका व्यक्त गर्नेहरुको पनि कमी छैन।