नयाँ संविधानबारेका विवादहरुको समाधान एक साताभित्र खोज्ने सहमति

  • 14 जुन 2011
संविधान सभा
Image caption दलहरुबीचका विवादका कारण संविधान निर्माणमा ढिलाई भएको हो

संविधान निर्माणबारेका विवाद टुङ्ग्याउन बनाइएको विवाद समाधान उपसमितिले भावि संविधानका प्रमुख विवादहरुको समाधान आउने सात दिनभित्र खोज्ने निर्णय गरेको छ।

लगातार दुई वटा वैठकमा अनुपस्थित रहेका उपसमितिका संयोजक एवं माओवादी अध्यक्ष प्रचण्ड सहभागी भएको मंगलबारको वैठक त्यस्तो निश्कर्षमा पुगेको हो।

संविधान निर्माण कार्यतालिकाबारे नै दलहरुबीच विवाद उत्पन्न भएका बेला उपसमितिको वैठकले एक साताभित्र संविधान निर्माणबारेका समस्याहरुको समाधान खोज्न एउटा बहुदलीय कार्यदललाई सक्रिय बनाउने निर्णय गरेको छ।

वैठकपछि उपसमिति संयोजक तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवाददाताहरुसँग भने, “गृहकार्य गर्न बनाइएको टोलीले बुधबारदेखि नै काम थाल्दैछ, विवाद समाधान र राजनीतिक सहमति दुबै समानान्तर ढंगले खोज्न सुझाव दिइएको छ।”

‘सकारात्मक’

दलहरुले भदौ १ गतेसम्म संविधानको प्रारम्भिक मस्यौदा तयार पार्ने कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेका छन्।

सो कार्यतालिका आफैं विवादित भएको बेला मंगलबारको उपसमिति वैठकले संविधानसम्वन्धी विवाद हल् गर्न राजनीतिक सहमतिको अपरिहार्यता औंल्याएको छ।

वैठकमा सहभागी एमाले नेता सुरेन्द्र पाण्डेले राज्य पुन:संरचना र अन्य प्रमुख विवादहरुको समाधानको उपाय खोज्ने मंगलबारको सहमतिले सकारात्मक परिणाम दिने आशा व्यक्त गरे।

संविधान निर्माणबारे खासगरि माओवादी, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, मधेसी मोर्चा लगायतका पक्षहरुका अडानका कारण राज्य पुन:संरचना, साशकीय स्वरुप, निर्वाचन प्रणाली सहित कैयौ विषयहरुमाथि सहमति जुट्न सकेको छैन।

नयाँ विवाद

त्यसमाथि अहिले संविधानको मस्यौदा पहिले तयार पार्ने की शान्ति प्रक्रियाका आधारभूत कामहरु पहिले सिध्याउने भन्ने ताजा विवाद थपिएको छ।

ती सबै विवाद समाधान गर्नेतर्फ प्रमुख दलहरुले छिट्टै राजनीतिक सहमति जुटाउन नसके उनीहरु भदौ १४ गतेसम्म शान्ति र संविधान निर्माणका घोषित काम सिध्याउन पुन: विफल हुन सक्ने धेरैको भनाई छ।