शीर्ष नेताहरुको बैठक निष्कर्षबिहिन

  • 19 जुन 2011
top leaders of three main parties तस्वीर कपीराइट BBC World Service
Image caption तीन साता पछि शीर्ष नेताहरुको बैठक बस्यो तर कुनै निर्णय गन सकेन

संविधान सभाको म्याद दोश्रोपटक थप्न पाँचबुँदे सहमति गरेको तीन साता पछि आइतबार बसेको तीन प्रमुख दलका शीर्ष नेताहरुको पहिलो बैठक निष्कर्षबिहीन बनेको छ।

बैठकपछि लडाकु समायोजन र पुनस्थापनाबारे निर्णयमा पुग्न दलहरुले अनौपचारिक कार्यदल बनाएको भनेका छन्।

तर शीर्ष तहमा कुरा नमिलेपछि कार्यदल बनाउने र कार्यदलको बैठकका असफल श्रृंखलाहरु पछि फेरि शीर्ष तहकै मुख ताक्ने प्रवृत्ति दलहरुमा देखिँदै आएको छ।

शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन माओवादी लडाकुको मोडालीटी, मापदण्ड र संख्या निश्चित गर्नुपर्ने र त्यो काम शीर्ष तहले मात्र गर्न सक्ने लडाकु व्यवस्थापन सम्बन्धी विशेष समिति लगायतले बताउँदै आएका छन्।

प्रस्ताव

आइतबारको बैठकमा दलहरुले ति विषयहरुमा पुरानै अडान दोहोर्‍याए।

सँगसँगै माओवादीले आफ्ना लडाकु समायोजनमाथि विशेषज्ञहरुको समिति मार्फत जानुपर्ने नयाँ प्रस्ताव गर्‍यो जुन खासगरी प्रमुख विपक्षी नेपाली कांग्रेसले अस्वीकार गर्‍यो।

शीर्ष छलफलमा सहभागी नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल भन्छन्, “समायोजनको मापदण्ड फरक हुनुपर्ने भन्दै माओवादीले विशेषज्ञहरुको विशेष समिति बनाएर समायोजन कार्य अगाडि बढाउने नयाँ प्रस्ताव गर्‍यो कांग्रेसको अडानचाहिँ नयाँ समिति चाहिन्न विस्तृत शान्ति संझौता अनुसार जाऔं भन्ने हो।”

अनौपचारिक सहमति

माओवादीले चाहिँ यो विषयमा धेरै छलफल आवश्यक रहेको भन्दै आजको बैठक अनिर्णित हुनु स्वाभाविक भएको बताएको छ।

माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाश भन्छन्, “नेतृत्व जि्म्मेवारी र मापदण्डबारे सहमति बनिसकेको छैन त्यसैले सहमतिमा पुग्न अनौपचारिक समिति बनाएर छलफल गर्ने निर्णय गरियो।”

मोडालीटी, मापदण्ड र संख्याबारे शीर्ष तहमा सहमति नबनी जस्तो सुकै कार्यदल बने पनि निर्णयमा पुग्न शीर्ष तहकै मुख ताक्नुपर्ने अवस्था छ।

शान्ति प्रक्रिया होस या संविधान लेखन मत नमिलेका सबै विषयमा शीर्ष तहको निर्णय आवश्यक छ।

कार्यदल

तीनै ठूला नेताहरुको मुख ताकेको छ राज्यको पुनसंरचना सम्बन्धी सुझाव दिन हालै बनेको कार्यदलले पनि।

कार्यदलका संयोजक लक्ष्मणलाल कर्णले राजनीतिक तहमा सहमति र निर्देशन नभै केही गर्न नसकिने अवस्था रहेको जानकारी आज संवाददाताहरुलाई दिएका थिए।

यसै मेसोमा आइताबारै लडाकु समायोजन कार्यतालिका र पुनस्थापना प्याकेज घोषणा गर्ने भनिएको लडाकु व्यवस्थापन सम्बन्धी विशेष समितिको बैठक केहि पनि गर्न नसकी टुंगिएको छ।