संविधान निर्माणबारेका विवाद हल गर्न गठित कार्यदलभित्रै विवाद

  • 20 जुन 2011
माओवादी नेताहरु
Image caption शान्ति प्रक्रिया र संविधान निर्माणबारे माओवादी भित्रको किचलो पनि कायमै छ

संविधान निर्माणसम्वन्धी विवाद समाधान उपसमितिले राजनीतिक सहमतिका आधारमा विवाद हल गर्न भन्दै एउटा कार्यदललाई सक्रिय बनाएपनि कार्यदलले अपेक्षाकृत प्रगति गर्न नसकेको सदस्यहरुले बताएका छन्।

आफ्नो एकसाताको म्याद सोमबार सकिएको कार्यदलले महत्वपूर्ण सहमति गरेको केहीको भनाई छ, तर अरु केहीले सहमति भएको अस्वीकार गरेका छन्।

शान्ति प्रक्रिया पहिले टुङ्ग्याउने की संविधान निर्माण पहिले भन्ने विवादकामाझ सहमति जुटाउन गठित कार्यदलको काम समेत प्रभावित भएको कार्यदलका सदस्यहरुले स्वीकारेका छन्।

नाम बताउन नचाहने एक कार्यदल सदस्यका अनुसार दलहरुका अडान र विवाद कायमै रहेकोले राज्य पुन:संरचना र शासकीय स्वरुपबारेका धेरै विवादहरु ज्यूंका त्यूं छन्।

‘प्रगति’

तर सो कार्यदलमा नेकपा एमालेका तर्फबाट सहभागी सभासद् अग्नी खरेलका अनुसार विवादहरु कम गर्ने तर्फ केही प्रगति भएको छ।

“सहमति जुट्ने वातावरण बनेको छ, संविधानको मस्यौदा तयार हुनेकुरामा आशावादी हुन सकिन्छ।”

एकीकृत माओवादीका तर्फबाट कार्यदलमा सहभागी सभासद् खीमलाल देवकोटाका अनुसार कार्यदलले राज्य पुन:संरचनाबारेका केही विवादहरु घटाउने र शासकीय स्वरुपका विषयमा सहमति जुटाउने सुत्रका विषयमा छलफल गरेको छ।

“विवादित बुँदाहरुको सख्या घटाउन सफल भएका छौं, शासकीय स्वरुपबारे पनि सहमति जुटाउन सकिन्छ।"

सहमति

जेठ १४ गतेको मध्यरातमा प्रमुख दलहरुले भदौ १४ गतेसम्म संविधानको पहिलो मस्यौदा तयार पार्ने र शान्ति प्रक्रियाका आधारभूत काम सिध्याउने सहमति गरेका थिए।

लगत्तै भदौ १ गतेसम्म संविधानको मस्यौदा तयार पार्ने र त्यस्को ९ दिन पछि अर्थात भदौ १० गतेसम्म शान्ति प्रक्रियाको आधारभूत काम सिध्याउने भन्ने कार्यतालिकाहरु सार्वजनिक भएका थिए।

तर सहमतिको मसी सुक्न नपाउँदै दलहरुबीच संविधान पहिले कि शान्ति पहिले भन्ने विवाद शुरु भएको थियो।

चिन्ता

त्यही विवादको एउटा सिकार हुन सक्छ, असार पाँच गतेसम्म बाहिर आउने भनिएको माओवादी लडाकू समायोजनको खाका घोषित दिनमा बाहिर ल्याउन दलहरु विफल भए।

दलहरुबीचका र उनीहरुका आफ्नै आन्तरिक विवाद चर्किरहेको बेला यस्ता विफलताका श्रृङ्खला अझै लम्बिन सक्ने धेरैको चिन्ता छ।