'प्रचण्डले महाधिवेशनको प्रस्ताव गर्ने'

  • 23 जुन 2011
माओवादी कार्यालय
Image caption एकिकृत नेकपा माओवादीको महाधिवेशन नभएको दुई दशक भइसकेको छ

पार्टीभित्रको गम्भीर विवादको छिनोफानो गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड महाधिवेशनमा जाने निधोमा पुगेका छन्।

शुक्रवारदेखि शुरु हुने केन्द्रिय समितिको बैठकमा उनले त्यस्तो प्रस्ताव गर्न लागेको उनी निकट नेताले जनाएका छन्।

प्रचण्ड निकट मन्त्री तथा पोलिटब्युरो सदस्य शक्ति बस्नेतले भने, "सवै स्थिति हेर्दा महाधिवेशनको मिति तोकेर जानु पर्ने आवश्यकता पार्टी र अध्यक्षले पनि महसुस गरेको विषय हो। मलाई लाग्छ, बैठकले मिति तोक्छ।"

माओवादी प्रवक्ता दिनानाथ शर्माको भनाईले पनि त्यो सम्भावनालाई बल दिएको छ।

उनले भने, "पार्टीका सबैभन्दा ठूला समस्या समाधान गर्ने जनवादी विधि महाधिवेशन हो भन्ने मत धेरै साथीको छ, पार्टीले त्यो बाटो नै लिन्छ होला।"

छलफल

स्थायी समिति बैठक बिहिवार नडाकिएपछि माओवादीको गैरसंस्थापन खेमाका नेताहरु केन्द्रिय समिति बैठक फेरी सारिन्छ कि भन्ने अन्यौलमा थिए।

त्यो अन्यौलका माझ प्रचण्ड भने निकटवर्तीहरुसँगको परामर्शमा व्यस्त रहे।

उनले पछिल्लो छलफल पार्टीका युवा नेताहरुसँग स्थायी समिति सदस्य वर्षमान पुन अनन्तको निवासमा गरेको थाहा भएको छ।

अन्य खेमाका नेताहरु पनि आन्तरिक छलफलमै व्यस्त थिए।

बाध्यता

कतिपयले माओवादीभित्रको आन्तरिक विवाद थामथुम पार्दै पार्टी फुट्नबाट जोगाउने गरी समय लम्ब्याउने वाध्यात्मक उपाय महाधिवेशनको घोषणालाई ठानेका छन्।

तर नेता बस्नेतले त्यो स्थितिमा नपुगेको दावी गर्दै भने, "काम कारवाहीमा एकरुपता र अभिव्यक्तिमा स्वतन्त्रता नै अहिलेको पार्टीको नीति हो।"

केन्द्रिय समितिको बैठकपछि पार्टी निर्णय लागू नगर्नेलाई अनुशासनको कोर्रा लगाउनु पर्ने धारणा संस्थापन खेमाका एकथरीमा देखिन्छ।

विगतमा भट्टराईले फरक मत दर्ता गर्दा पनि त्यस्तो आवाज उठेको थियो।

उसबेला उपाध्यक्ष किरण पक्ष कारवाहीको विपक्षमा बोल्थ्यो, अहिले भट्टराई खेमा त्यसै गरिरहेको छ।

नेता शर्माले भने, "कारवाही गर्दा पार्टी विभाजनतिर जाने खतरा हुन्छ, त्यसैले रुपान्तरण सहितको एकता अहिलेको आवश्यकता हो।"

माओवादीको महाधिवेशन नभएको करीब दुई दशक भइसकेको छ।

तर राष्ट्रिय राजनीति प्रतिकूल बनेमा मिति तोकिएको भने पनि महाधिवेशन फेरि अनिश्चित बन्न सक्छ।