महाधिवेशनमा जाने प्रचण्डको प्रस्ताव

  • 24 जुन 2011
माओवादी बैठकमा नेताहरु तस्वीर कपीराइट .
Image caption जिम्मेवारी हेरफेरको प्रस्ताव स्था‍यी समितिले बनाए फेरि केन्द्रिय समितिको बैठक हुनेछ

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी विवाद मिलाउन महाधिवेशनमा जाने प्रस्ताव गरेका छन्।

उनले केन्द्रिय समितिको शुक्रवारदेखि शुरु भएको बैठकमा त्यस्तो प्रस्ताव गरेका हुन्।

पार्टीभित्रको असहमत पक्षसँगको सहमति अनुसार अध्यक्ष प्रचण्डले बैठकमा लिखित प्रस्ताव पेश नगरी राष्ट्रिय राजनीति र आन्तरिक विवादको विश्लेषण गर्दै महाधिवेशनसम्म जाने विकल्प पेश गरेका थिए।

उनी निकट नेता वर्षमान पुन अनन्तले भने, "अध्यक्षले मतभेद र असहमतिहरुबारे पार्टीभित्रै व्यवस्थित विधि बनाएर छलफल गर्दै महाधिवेशनमा जाने प्रस्ताव गर्नु भयो। बैठकले मिति तोक्छ।"

आत्मआलोचना

अनन्तका अनुसार पछिल्ला दिनहरुमा देखिएका मतभेद रोकेर सबैले सामूहिक आत्मआलोचना गर्नु पर्ने प्रस्ताव पनि प्रचण्डले गरेका छन्।

तर उपाध्यक्ष मोहन वैद्य किरण निकट सचिव सीपी गजुरेलले भने, "ज-जसबाट कमि कमजोरी भएको छ उसले पो आत्मालोचना गर्नु पर्छ, नत्र त आइतवार चर्चमा गएर पाप मोचनको याचना गरे जस्तो भैहाल्छ नि।"

मन्त्रिमण्डल पुनर्गठन तथा सांगठनिक जिम्मेवारीमा परिवर्तनको प्रस्ताव तयार गर्ने जिम्मा स्थाई समितिलाई दिँदै बैठक कम्तिमा तीन दिनका लागि स्थगित गरिएको छ।

नयाँ नेतृत्व

माओवादीका एकजना वरिष्ठ नेताले सरकारमा नयाँ टिम पठाउनेबारे पनि नेतृत्व तहमा छलफल शुरु भएको बताए।

ती नेताका अनुसार त्यसमा सहमति बनेमा पदाधिकारीमा रहेका नेताको नेतृत्वमा सरकारमा पठाइने छ।

उपाध्यक्ष बाबुराम भट्टराई निकट पोलिटब्युरो सदस्य राम कार्कीले त्यो स्थितिमा भट्टराईले नेतृत्व गर्ने सम्भावना नरहेको बताए।

भट्टराई पक्षले उनलाई पार्टीभित्र भावी प्रधानमन्त्रीको रुपमा अघि सारिरहेको छ।

सामान्यतया संसदीय दलको नेता नै प्रधानमन्त्री बन्ने चलन छ।

अहिले प्रचण्ड नै संसदीय दलको नेता छन्।

तर नेता अनन्तले संसदीय दलको नेता परिवर्तनको सम्भावना अस्वीकार गरेका छन्।