शासन प्रणाली विवादमा मिलनविन्दु फेला परेन: नेपाली कांग्रेस

  • 30 जुन 2011
रामचन्द्र पौडेल
Image caption कांग्रेसका उपसभापति पौडेलले आफ्नो दल संसदीय प्रणालीनै हुनुपर्नेमा अडिग रहेको बताए

कार्यकारी राष्ट्रपति राख्ने वा कार्यकारी प्रधानमन्त्री राख्ने लगायतका विवाद समाधान गर्न सम्झौताको साझा विन्दु अझै भेट्टाउन नसकिएको नेपाली कांग्रेसका संसदीय दलका नेता रामचन्द्र पौडेलले बताएका छन्।

मिश्रित शासन प्रणाली समाधानको विकल्प हुनसक्ने धारणा सहितको प्रतिवेदन मुख्य दलहरुको प्रतिनिधित्व भएको एउटा संसदीय कार्यदलले विवाद समाधान गर्न गठित उपसमितिलाई बुझाएपछि उनको सो भनाई आएको हो।

विकल्प

नेपाली कांग्रेसले भन्दै आएको संसदीय व्यवस्था र माओवादीले भन्दै आएको कार्यकारी राष्ट्रपतीय शासनको बीचमा रहेर मिश्रित शासन प्रणाली अपनाउन सकिने अनौपचारिक भनिएको विकल्प सो कार्यदलले उपसमितिलाई बुझाएको थियो।

कार्यदलको प्रतिवेदन बुझेपछि विहिबार पहिलोपल्ट बसेको उपसमितिको बैठकपछि उपसमितिका सदस्य एवं नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले कार्यदलले प्रस्तुत गरेको भनिएको जस्तो विकल्प आफ्नो दललाई स्वीकार्य नहुने संकेत दिएका छन्।

“कुनै मिलनविन्दु फेला परेको छैन। नेपाली कांग्रेसले जनताप्रति उत्तरादायी हुने संसद र संसदप्रति उत्तरदायी हुने कार्यकारीबारेको धारणा अघि सारेको छ,” पौडेलले भने।

उनले साझा सहमतिको विन्दुको लागि परम्परागत निर्वाचन प्रणालीमा हेरफेर गर्न सकिने बताए।

सोही बैठकपछि सञ्चारकर्मीहरुसंग बोल्ने क्रममा माओवादीका अध्यक्ष प्रचण्डले कांग्रेस लगायत अन्य दलहरुसंगका विमतिका कुराहरु कोट्याएनन्।

बरु उनले शासकीय स्वरुप विवाद समाधानबारे आफु निकै उत्साही भएको छनक दिए।

“विहिबारबाट शासकीय स्वरुपमाथि निकै गम्भीर ढंगले छलफल अगाडि बढेको छ। यो छलफलले के आशा जगाएको छ भने यो विषयमा यदि सहमति भयो भने अरु धेरै सहमतिका ढोकाहरु खुल्छन्। छलफल राम्रोसंग अगाडि बढेको छ,” प्रचण्डको भनाई थियो।

प्रचण्डले भनेजस्तै शासकीय स्वरुपबारेको विवाद समाधान भए अरु विवाद समाधान गर्ने ढोकाहरु त खुल्थे होलान्। तर संविधानको पहिलो मस्यौदा तयार पार्ने म्याद दुई महिनाभन्दा कम भइसकेको बेला पहिलो ढोका खोल्नै धेरै समय लागेमा अन्य ढोका ढकढक्याउनपनि नभ्याइने डर बढेको धेरैको भनाई छ।